पोखराः चार दलको समर्थन पाएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा विश्वासको मत लिएका छन् । गण्डकी प्रदेश सभामा शुक्रबार तोकिएको विश्वासको मत लिने कार्य सूची अनुसार विश्वासको मत मागेका उनले यस अघि आफ्ना पक्षमा पाएको मत अनुसार नै विश्वासको मत लिन सफल भएका हुन् ।
कुल उपस्थित ५८ मध्ये यस अघि हस्ताक्षर गरेका ३१ सदस्यले उनको प्रस्तावका पक्षमा मतदान गरे भने एमालेका २७ सदस्यले विपक्षमा मतदान गरे । मतदान सकिए पछि प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बहुमतको समर्थन पाएकाले सरकारले विश्वासको मत पाएको घोषणा गरे ।
पोखरेलका पक्षमा कांग्रेस, माओवादवी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासहित स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङे समेतले मत दिएका थिए । मुख्यमन्त्री चयन भएको छोटो समयमै विश्वासको मत लिने निर्णय गरेका नेपालीले अब मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका छन् ।
कांग्रेसका थप दुई, माओवादीका थप तीन तथा जसपाका थप एक सांसद मन्त्री बन्ने बताइन्छ । आफूलाई मन्त्री बनाउन लबिङ गर्ने चारवटै दलका सांसदको दबाब छ ।










