तनहुँको दिनभरको वर्षा अपडेटः जोखिम छ, ठूलो क्षति छैन

  • ख-
  • ख+

दमौलीः सोमबार रातीदेखि पर्न थालेको वर्षा मंगलबार दिनभर तनहुँभर परेको छ । मौसमविदले देशका धेरै भागमा वर्षा निरन्तर हुने भनेर पूर्वानुमान परेको पहिलो दिन मंगलबार तनहुँमा पनि अधिक वर्षा भएको पाइएको छ ।

शुक्लागण्डकीस्थित सेती, दमौलीको मादी र आसपास, बुल्दी खोलासहित जिल्लाका अधिकांश खोला र नदीमा जलस्तर बढेको छ । त्यसले बाढी आउने र केही भूक्षय बढाएको सहायक प्रजिअ चित्रांगत बरालले बताए । ‘सबैतिर पानी परेकाले नदीको स्तर बढेको सूचना छ, हालसम्म मानवीय वा ठूलो भौतिक क्षतिको रेकर्ड छैन,’ उनले दमौली न्युजसँग भने ।


शुक्लागण्डकीको सेती पुल क्षेत्रमा यस अघिजस्तै नदीको स्तर बढेकाले पुल क्षेत्रको पुरानो बस्ती जोखिममा छ । यसबाहेक व्यास १३ मा पर्ने सेती किनारका केही भागमा पनि नदीको सतह बढे पनि खतराको स्तर यो समाचार तयार पार्दासम्म पार भैसकेको छैन ।


आवतजावतमा समस्या
वर्षाका कारण दमौलीस्थित पृथ्वी राजमार्ग केहिबेर अवरुद्ध भयो । नालाको पानी थुनिएर सडकमा गए पछि अवरुद्ध राजमार्ग साँझ केहिबेरमा सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए ।


म्याग्देसहित तनहुँमा पर्ने पृथ्वी राजमार्गका ठाउँ ठाउँमा स साना दर्जनौं पहिरो खसे पनि यातायातमा ठूलो अवरोध नआएको उनले बताए । डुम्रे बेसिसहर सडकका केही भागमा पनि आंशिक अवरोध भएको सूचना प्रहरी श्रोतले दिएको छ ।


प्रशासन भन्छ,‘सजग छौं’
अझै दुई दिन थप यही प्रकृतिको वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ । यस आधारमा पनि प्रशासनले सोमबार नै सार्वजनिक सूचना जारी गरेर सजग रहन र नदी क्षेत्रमा सावधानी अपनाउन भनेको थियो । प्रशासनले कुनै पनि जोखिमका घटना देखिएमा प्रशासन र प्रहरीको निःशुल्क १०० नम्बरमा खबर दिन जिल्लावासीमा अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी