जापान र अष्ट्रेलिया बस्दै आएका नेपालीको सहयोगमा ओडारेका ३९ चेपाङ परिवारलाई चामल

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिका–११ ओडारेका चेपाङ समुदायलाई शुक्रबार खाद्यान्न सहयोग गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा जापान र अष्ट्रेलियामा बस्दै आएका व्यक्तिहरुको सहयोग र निरु गौतम न्यूज नेपालको समन्वयमा चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको हो ।


ओडारेका ३९ घरपरिवारलाई १ बोरा चामल, २ किलो दाल, नुन, तेल, साबुन, सोयाविन प्रदान गरिएको निरु गौतमले जानकारी दिइन् । गौतमका अनुसार जापान स्थित राजु र कमला केसीका स्वर्गीय बुवा पूर्ण बहादुर खत्री र जापानस्थित बेलु र उमा बस्नेतका स्वर्गीय आमा भुमा कुमारी बस्नेतको सम्झनामा चेपाङ समुदायका लागि रकम सहयोग गरेका हुन् ।


त्यस्तै अष्ट्रेलिया स्थित सम्झना अधिकारी, सोनु थापा, दिपिका प्याकुरेल र सविता प्याकुरेलको स्वर्गीय हजुरबुवा हरि बहादुर थापा र स्वर्गीय हजुरआमा सुधा थापाको सम्झनामा खाद्यान्न प्रदान गर्न रकम सहयोग गरेका हुन् ।
लामो समय भएको निषेधाज्ञाले चेपाङ समुदायमा खानेकुरा अभाव भएको अवस्थामा खाद्यान्न सामग्रीले उनीहरुको टेवा पुग्ने व्यास ११ का वडाध्यक्ष निरबहादुर खड्काले बताए । कोभिड महामारीको अवस्थामा स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएकाले सचेत र स्वास्थ्यमा ध्यान दिन चेपाङ समुदायलाई वडाध्यक्ष खड्काले सुझाए ।


‘यस सामग्रीले छाक टार्नमा सहज बनाउनेछ,’ खड्काले भने । पिछडिएका वर्गलाई छनौट गरी गरिएको सहयोगप्रति उनले आभार व्यक्त गरे । वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सहयोगले विपन्न परिवारको भोक टर्ने हुँदा यहाँका चेपाङ समुदायलाई छनोट गरी सामग्री प्रदान गरिएको न्यूज नेपालका सम्पादक कल्पित सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार गरिब तथा विपन्न वर्गलाई टेवा पु¥याउने उद्देश्यले रकम पठाए अनुरुप उक्त समुदायलाई सामग्री प्रदान गरिएको हो ।
‘हामी कन्दमुल खाएर पनि बाँच्ने समुदाय हो, तर अहिले कन्दमुल पनि छिपिएको छ, जंगलमा पाउने अवस्था छैन, बन्दको बेलामा पनि पाएका छैनौं, दैनिकी कसरी चलाउने भएको थियो, यो सहयोगले बन्दभरलाई पुग्ने आशा गरेका छौं,’ रंगलाल प्रजाले भने ।


गरिब तथा विपन्न, लोपोन्मुख चेपाङ समुदायका लागि व्यास २ का सलिम मियाले निःशुल्क खाद्यान्न ढुवानी गर्न सहयोग गरेका छन् । मियाले विपन्न वर्गका लागि महामारीको बेलामा सहयोग गर्ने पाउँदा खुशी लागेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्