फिफा विश्वकप छनाैट:नवयुग र अञ्जन चम्कँदा नेपालको शानदार जीत

  • ख-
  • ख+

काठमाडौं: फिफा विश्वकप छनौटमा नेपालले चाइनिज ताइपेइविरुद्ध दुई शुन्यको जित निकालेको छ । यो जितपछि नेपाललले एशियन कपमा छनौट हुने संभावना जिवितै राखेको छ । नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

कुवेत स्थित जाबेल अल अहम रंगशालामा भएको खेलको तेस्रो मिनेटमा नै नेपालले पेनाल्टी पायो । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक डिबक्समा चाइनिज ताइपेइका खेलाडीको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिए । जसलाई अञ्जन विष्टले सहजै गोल गर्न सफल भए । चाइनीज ताइपेईविरुद्ध अञ्जनको यो तेस्रो गोल हो ।

एक गोलले पछि परेको अवस्थामा ११ औं मिनेटमा ताइपेइले खेलमा फर्कने मौका खेर फाल्यो । उसका वु चुन चिङको हेडरलाई नेपाली कप्तान किरण चेम्जोङले बचाए ।

खेलको १६ औं मिनेटमा नेपालका सन्तोष तामाङको पासमा सुनील बलले प्रहार गर्न खोजेको बललाई ताइपेइका गोलकिपरले बचाए ।
त्यसपछि नेपालले दुई वटा मौका पाएको थियो । २२ औं मिनेटमा सुनील बलले लामो प्रयास गर्दा पोष्टको निकै माथिबाट बाहिरीयो । २४ औं मिनेटमा अञ्जन विष्टले दुई जना डिफेन्डरको विचबाट गरेको प्रहार ताइपेइका गोलकिपरले बचाए । त्यसपछि दुबै टिमबाट अरु प्रहार हुन सकेन र नेपालले पहिलो हाफमा एक शुन्यको अग्रता बनायो ।

दोस्रो हाफको ५२ औं मिनेटमा नेपालले अर्को मौकालाई सदुपयोग हुन सकेन । त्यसपछि ५४ औं मिनेटमा सन्तोष तामाङको प्रहारपनि पोष्टमा रहन सकेन । ७० औं मिनेटमा ताइपेइले कर्नरबाट मौकाको सिर्जना गरेको थियो । तर त्यसलाई नेपालले क्लियर गर्यो ।

८० औं मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका युवा खेलाडी मनिष डाँगीको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।
८१ औं मिनेटमा नेपालले दुई शुन्यको अग्रता बनायो । नेपालका लागि सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले गोल गर्न सफल भए । उनले सुमन अर्यालले डिबक्समा मिलाएको बललाई उत्कृष्ट फिनिस गरे । उनले प्रहार गरेको बललाई ताइपेइका गोलकिपरले भेउ पाउन सकेनन् ।

८६ औं मिनेटमा नवयुग श्रेष्ठको हेडको प्रयास पोष्टको नजिकैबाट बाहिरीयो । फ्रिकिकबाट आएको बलमा उनको हेडर पोष्टको नजिकैबाट बाहिरीयो ।

८९ औं मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका विशाल राईको सशक्त प्रहारलाई ताइपेइका गोलकिपरले बचाए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा नेपालले अर्को मुभ बनाएको थियो । तर सुमन अर्यालको प्रहारलाई ताइपेइका गोलकिपरले बचाए । त्यसपछि दुबै टिमबाट थप गाेलहुन सकेन र नेपाल दुई शुन्यले विजयी भयाे ।

यो जितपछि नेपालले ६ खेलमा ६ अंक बनाएको छ । उसले प्रतियोगितामा खेलेका ६ खेलमा दुबै जित चाइनिज ताइपेइविरुद्ध नै निकाल्यो । यता ताइपेइ भने अहिलेसम्म एक पनि जित निकाल्न सकेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी