के साँच्चै काँग्रेस बीपीकै बाटोमा छ ?

  • ख-
  • ख+

सन्देश आचार्य
जनतामा राजनैतिक चेतना अभिवृद्धि गर्दै सामन्ती राणाशासनको अन्त्य र प्रजातान्त्रिक व्यवस्थाको स्थापनार्थ विक्रम सम्वत २००३ सालमा स्थापित नेपाली कांग्रेस अहिले सैद्धान्तिक विचलनले गोरेटोहीन अवस्थामा छ ।

ऊ जुन सुकै अवस्थामा दुर्घटनामा पर्न सक्ने खतरामा छ । यस्ता सम्भाव्य भवितव्य नियन्त्रणका लागि कांग्रेसभित्र युवा वैचारिक बहस र क्रान्तिको आवश्यकता छ ।


बीपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई तत्कालिन नेपाली समाजले औधी रूचाएर विश्वास पनि गरेको पाइन्छ । समयक्रमसँगै बीपीका अनुयायीहरूले उनका सिद्धान्तहरूमा बहस गरेनन् । समयसापेक्ष व्याख्या र परिस्कृत गरेनन् ।

फलतः कांग्रेस आफ्नो दर्शन, सिद्धान्त र विचारहरूबाट विमूख हुन थाल्यो । जनताले विस्तारै ऊ माथिको विश्वास कम गर्दै गैरहेको छ । कांग्रेस नेतृत्वमा प्रजातन्त्रको अधिक र समाजवादको बहस न्यून हुन थाल्यो ।


हाम्रो आर्थिक समृद्धिको जग नै स्थानीय सामग्रीको पहिचान र उत्पादनलाई प्रोत्साहन गर्नु हो । ‘देश विकासको पहिलो खुट्किला गाउँ को विकास हो’ यस्ता सिद्धान्तबाट दूर भागे पछि कांग्रेस जनताको विश्वासबाट बन्चित बनेको छ ।

बीपीको समाजवादका अन्तरवस्तुहरूको खोज, पहिचान र ती विषयवस्तुबीच अन्तरक्रिया हुनु आवश्यक छ । कांग्रेसको नेतृत्वमा नैतिक र वैचारिक सुदृढता देखिंदैन ।

आम जनताको समस्याप्रति कहिले बोल्छ काङ्ग्रेस ? राष्ट्रियताको सवालमा काङ्ग्रेसको धारणा के हो ? कांग्रेसको गुमेको विरासत कहिले फर्कन्छ ? पार्टी नातावादबाट कहिले माथी उठ्छ ? के पार्टीभित्र सम्भावना बोकेका युवाहरू छैनन्?

व्यापक आपसी अन्तरघातको अवस्था छ, जुन बीपीको मेलमिलापको नीति विपरित हो । राष्ट्रिय एकता सम्पुर्ण नेपाली जनताहरूको प्रयासबाट मात्र सम्भव हुने भएकोले जनताहरूबीच र स्वयम् नेतृत्वका शीर्षस्थ नेताहरूबीच भावनात्मक एकता संस्थागत गर्नु पर्ने देखिन्छ ।


काङ्ग्रेस नसुध्रिए सम्म
आदर्श पुरूष बीपीका सादगीपूर्ण जीवन र सिद्धान्तहरूको अनुसरण नगर्ने काङ्ग्रेस नेतृत्वले सदा आफ्नो हठ,आडम्बर र अहमता राखेर एउटा सिङ्गो पार्टीको भविष्य माथि कहिले सम्म खेलबाड गरिरहने ?

दलका शुभचिन्तकहरूको विश्वासमाथि कहिले सम्म घात गरिरहने ? आम जनताको समस्याप्रति कहिले बोल्छ काङ्ग्रेस ? राष्ट्रियताको सवालमा काङ्ग्रेसको धारणा के हो ? कांग्रेसको गुमेको विरासत कहिले फर्कन्छ ? पार्टी नातावादबाट कहिले माथी उठ्छ ? के पार्टीभित्र सम्भावना बोकेका युवाहरू छैनन्? म जस्तै हजारौ जनमानसमा यस्ता प्रश्नहरू तेर्सिरहन्छन् । यस्ता प्रश्नहरूको उत्तर खोज्नु जो कोही काङ्ग्रेससँग आस्था जोडिएका आम नागरिकहरूको अधिकार हो ।

नेतृत्वले पार्टीको शुद्धीकरण गर्नु जरूरी छ । नीतिगत योजनाहरूको निर्माण गरि सर्वमान्य व्यक्तिले अबको बाग्डोर सम्हाल्नुको विकल्प छैन । कांग्रेसप्रेमी युवाहरूले भावी रणनीतिको निर्माण र संजाल विस्तारमा ध्यान पुर्याउनु पर्ने देखिन्छ ।

जागरुक युवाहरूले नेतृत्व वर्गलाई निजी स्वार्थबाट माथि उठेर देश र जनताको हितका निमित्त काम गर्न खबरदारी गरिरहनु पर्छ ।

हामीले हर साल बीपी जन्म जयन्ती र स्मृति दिवस मनाईरहँदा उनका विचार र सिद्धान्तहरू कति मनन गर्यौं ? कति पालना गर्यौं आत्मसमीक्षा गरौं । बीपीलाई सम्झने नाउँमा वर्षको एक दिन उनका विचारहरूलाई कसरी वर्णन गर्यौं ? कसरी प्रष्ट्यायौं ?

कुनै सुगन्धित फूलको विरूवा रोपेर वर्षभरि बेवास्ता गर्नु र वार्षिक दिवसमा मात्र उनका आदर्शवाणीहरूको चर्चा गर्नु र आत्मसात् नगर्नु हात्ती र हात्तीछाप चप्पल जस्तै हो । जननायक बीपी र साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाप्रति श्रद्धासुमन !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी