सत्यवती र पञ्चमुनिदेव माविको अनुशरण गर्दै ऋषिङ्गको शिव सरस्वती मावि

दमौली न्युज
  • ख-
  • ख+

तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं ८ मा रहेको शिव सरस्वती माविले देश भरमा प्रतिष्ठित तनहुँका दुई विद्यालयहरूको शुक्रबार अवलोकन गरेको छ । शिव सरस्वती माविको शिक्षक परिवार तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको संयुक्त टोलीले तनहुको दमौलीमा रहेको सत्यवती माध्यमिक विद्यालय र तनहुँकै शुक्लागण्डकी नगरपालिकामा रहेको पञ्चमुनिदेव माविको स्थलगत अवलोकन एवं अध्ययन गरेको हो।

देशभरमा नै उत्कृष्ट नतिजा ल्याउन सफल सत्यवती माध्यमिक विद्यालय र पञ्चमुनीदेव माविको शिक्षण पद्धति, विद्यालय व्यवस्थापन प्रणाली, लेखा प्रणाली विद्यालयका शिक्षक, अभिभावक र व्यवस्थापन समितिको त्रिकोणात्मक सम्बन्ध र समग्रमा त्यहाँका गतिविधिहरु बारे अध्यन्न गरेका छन् । शैक्षिक वर्ष २०८१ का लागि करिब २७ सय विद्यार्थी संख्या भर्ना भइसकेको विद्यालयमा बिहान र दिवागरी दुई समूहमा पढाइ हुँदै आएको विद्यालयका सहायक प्रधानाध्यापक अशोक गिरीले जानकारी दिए। विद्यालयमा दिवा समूहतर्फ व्यवस्थापन शिक्षा, pure science, management संकायमा १८ वटा सेक्सन मा पढाइ भइरहेको छ उनले भने ।

दुईपटक नेपाल भर दोस्रो स्थान र तीनपटकसम्म क्षेत्रीय स्तरमा टप हुन सफल सत्यवती मावि२०७० सालमा एकपटक नेपाल टप भएको थियो उनले भने । विद्यालयमा २०६८ सालदेखि पियोर साइन्स र २०७० सालदेखि कम्प्युटर इन्जिनियरिङ थालिएको हो उनले भने। विद्यार्थी सङ्ख्या अत्यन्तै धेरै भएको हुँदा विद्यालयले बिहानी र दिवा सत्रमा पठनपाठन गराउँदै आइरहेको जसमा प्रयोगात्मक परीक्षा, विद्यार्थीको पोर्टफोलियो निर्माण गरिँदै र विभिन्न खालका प्रोजेक्ट वर्कहरु र विधागत रुपमा विद्यार्थीहरूको अभिलेख स्पष्ट राखेर विद्यार्थीको शैक्षिक स्तर मापन गरिँदै आइरहेको गिरीले जानकारी दिए ।

शैक्षिक क्षेत्रमा मात्रै नभई खेलकुद, वक्तित्वकला लगायत विभिन्न विधाहरूमा अब्बल नतिजा ल्याउने सत्यवतीले विद्यार्थीहरूको इन्ट्रेस्टलाई मध्यनजर गर्दै सोही क्षेत्रमा विद्यार्थीलाई केन्द्रित गराउँदै आइरहेको छ जसले गर्दा जिल्लाभरका विभिन्न रनिङसिल्ड तथा कपहरू जित्दै आएका छौं उनले भने । विद्यालयले इन्टरनेट र स्मार्ट बोर्डको माध्यमबाट श्रव्य दृश्य दुवै माध्यमलाई प्रयोग गरी विद्यार्थीहरूलाई सिकाउँदा आइरहेको छ ।

विद्यार्थीहरूको सिकाइका लागि लर्नर्स सेन्टर समेत खोलिएको छ जसले सजिलै इन्टरनेटको माध्यमबाट छोटो समयमा नै प्रभावकारी तरिकाबाट सिक्ने गरेछन् । सहायक प्रधानाध्यापक गिरीका अनुसार विद्यालयको सफलता पछाडि विद्यालयमा कार्यरत शिक्षकहरूको क्रियाशीलता र प्रत्यक्ष सहभागिताको महत्वपूर्ण भूमिका रहेको बताए। विद्यालयमा अङ्ग्रेजी नेपाली र मिक्स मिडियम गरी तीनवटा तरिकाबाट पढाइ हुँदै आएको छ । विद्यालयले कमजोर विद्यार्थीहरूलाई विशेष अभ्यास र अतिरिक्त कक्षाहरू समेत सञ्चालन गर्दै आएको र समयसमयमा अभिभावकहरुलाई उनीहरूको नतिजा र प्रोग्रेस रिपोर्ट बारे समेत अवगत गराउँदै आएका छौं जसले अभिभावक र विद्यार्थी स्वयंलाई थप संवेदनशील र जिम्मेवार बनाउँदै संस्था अगाडि बढेको बताए ।

विद्यालयले कक्षा आठ १० र १२ मा अध्ययनरत विद्यार्थीहरूको शनिबार समेत साप्ताहिक परीक्षा लिँदै आएको छ । २५०० भन्दा धेरै सङ्ख्यामा विद्यार्थी रहेको सत्यवतीमा पर्याप्त शिक्षक दरबन्दी नहुँदा ३० भन्दा बढी शिक्षकहरूलाई निजी रुपमा खटाइएको छ उनले भने । कर्मचारी व्यवस्थापनमा भने केही चुनौती रहेको हुँदा धेरै जना शिक्षकहरू विदामा रहेको बेला भोलेन्टियर शिक्षकहरू समेत खटाएर पठनपाठन गरिएको विद्यालयकी प्रधानाध्यापक पुष्पकला भट्टराईले जानकारी दिनुभयो ।

भोलेन्टियर शिक्षकहरूलाई प्रति पिरियड १०० रुपैयाँका दरले पारिश्रमिक समेत दिएर फरक ढङ्गबाट पठनपाठन गराएका छौं उनले भनिन् । विद्यालयमा पढिरहेका विद्यार्थीहरूको अभिभावकहरूसँग प्रतिबद्धता गराएर थप जिम्मेवारी बोध गराइएका छौं उनले भनिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेका अनुसार विद्यालयलाई चुस्त र स्फुर्त रुपमा सञ्चालनका लागि आफूहरू हँदैसम्मको प्रयास गरिरहेको बताए । विद्यालयलाई डिजिटलाइज गराउन र प्रभावकारी सिकाईका लागि शिक्षकहरूलाई हौसला र क्रियाशील बनाउँदै आइएको र अभिभावकहरूलाई केन्द्रित गरी विभिन्न खाले कार्यक्रमहरू प्रस्ताव गरी नै लगिएको समेत बताए ।

त्यसैगरी विद्यालय शिव सरस्वती माविको टोलीले शुक्लागण्डकी नगरपालिकामा रहेको पञ्चमुनिदेव माध्यमिक विद्यालयको समेत अध्ययन अवलोकन गरेको छ। करिब २३०० जना विद्यार्थी रहेको सो विद्यालयमा पनि अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुँदै आइरहेको छ। कक्षा ९ देखि नै कम्प्युटर साइन्स र प्राविधिक धारतर्फको भेटेरिनरी विषयको पठनपाठन हुँदै आइरहेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए। पञ्चमुनि देव माविले विद्यार्थीहरूको लागि प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप, इन्डोर गेम लगायत एक्स्ट्रा बुक एन्ड क्लास, पिरियड लगायतका पाठ्यक्रम थप गर्दै पठनपाठन गरिरहेका छ उनले भने ।

विद्यालयमा बाल कक्षा देखि कक्षा ५ सम्म छुट्टै ब्लक तर्फ विशेष तरिकाले अध्यापन गराइरहेको बताए । विद्यालयमा हाल ८४ जना शिक्षकहरू कार्यरत रहेको र शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षकहरुलाई अतिरिक्त सुविधा समेत दिएर अगाडि बढिरहेका विद्यालयका प्रधानाध्यापक ध्रुवकुमार मल्लले जानकारी दिए। विद्यालयमा शैक्षिक स्तर र सिकाइको गुणस्तरलाई वृद्धि गराउन स्मार्ट क्लास, मन्टेस्री प्रणालीबाट बालकक्षामा पठनपाठन गराउँदै आइरहेको जानकारी दिए । सामुदायिक विद्यालयहरूप्रतिको दृष्टिकोण बदल्न फरक अभ्यास र नतिजा ल्याउन आफूहरू हँदैसम्मको प्रयास गरिरहेको र विगत केही वर्ष यता निजी विद्यालयका विद्यार्थीहरू समेत आफ्नो विद्यालयमा पढ्नका लागि उल्लेख्य मात्रामा आइरहेको प्रअ मल्ले जानकारी दिए ।

तनहुँमा रहेका दुई अब्बल विद्यालयहरुको अवलोकन र अध्यनले शिव सरस्वती माविलाई समेत उनीहरूको अनुसरण गर्ने प्रेरणा मिलेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दानबहादुर श्रेष्ठले बताए । दुई विद्यालयको समग्र भौतिक, प्रशासनिक र शैक्षिक पाटोहरूको अध्ययन गर्दा शिव सरस्वती मावि परिवारले त्यहाँबाट अत्यन्तै सकारात्मक र रचनात्मक सिकाई प्राप्त गरेको छ उनले भने । दुई विद्यालयको सफलता र अन्य समग्र पक्षहरूबाट अत्यन्तै प्रभावित भएको शिव सरस्वती माविले आफ्नो शैक्षिक स्तर सुधार र गुणस्तर वृद्धिका लागि आगामी दिनमा समेत सहकार्य गरेर अगाडि बढ्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी