
केदार शर्मा

“देश खत्तम!
देश खत्तम!
खत्तम देश!” – उहाँले भन्नुभयो।
मैले भनेँ, “तथ्याङ्कहरूले त राम्रै देखाइरहेका छन् त!”
उहाँलाई मन परेन। भन्नुभयो, “तथ्याङ्क कसरी बनाइन्छन्, हाम्लाई थाहा छ।”
म फेरि प्रयत्न गर्छु, “गएको ४४ वर्षदेखि देश घुमिरहेको छु, समाज त उँभो लागेको छ त हौ!”
उहाँ भन्नुहुन्छ, “४४ वर्षमा सिङ्गापुर कहाँबाट कहाँ पुग्यो थाहा छ?”
अनि मुर्मुरिनु हुन्छ, “यो सब ढल्छ, तासको घर जसरी ढल्छ।”
“यहाँ केही हुँदैन / यो देश बन्दैन / उथलपुथल हुन्छ,” उहाँले भविष्यवाणी गर्नुभयो र निहुँपिहुँले भन्नु भयो, – “यो भन्दा त ‘उही’ राम्रो!”
याद गर्नु भएको छ, यसो भन्ने को छन्?
यसोभन्ने अधिकांश आम नेपालीको भन्दा सयौँ गुना सम्पन्न जीवन बाँचिरहेका र हजारौँ गुना सम्पत्ति कमाएकाहरू छन्।
सायद त्यति क्षमता नभएकालाई कामको चाप छ, त्यति धेरै मुर्मुरिएको देख्दिनँ।
कमाएका उनैले हो, बदमासी पनि गरेनन् होला, तर त्यो कमाउने परिवेश दिएको भने यही व्यवस्थाले हो।
तर उनीहरूलाई “यो झोलेहरूको व्यवस्था” को प्रशंसा गर्न मन लाग्दैन। उनीहरू आफू जनता भए पनि आफूमाथि शासन सम्भ्रान्तहरूले नै गरेको मन पराउँछन्।
(तपाईँलाई भनेको होइन, पटक्कै होइन। तपाईं एक जना बाहेक सबै त्यस्तै छन्।)
उनीहरूलाई भन्न मन लाग्छ, “तपाईं चाहिँ सधैँ उँभो लागिरहने र देश ओरालो गइरहने हुन्छ? हुन्छ भने कुनै न कुनै प्रकारले ढुकुटीमा तपाईंको पनि हात परेको छ।”
तर भन्दिनँ!
तपाईँले अर्को कुरा पनि याद गर्नुभएको होला, यसरी मुर्मुरिनेमा अधिकांश कुनै न कुनै रूपमा राज्यकोषबाट सुविधा पाएकाहरू छन् (त्यो पनि तपाईँ बाहेक है!)
वा, ‘नारान समुदायका देशभक्तहरू’ छन् (त्यो पनि तपाईँ बाहेक)।
आफ्ना सन्तानलाई देशमा टिकाउन नसक्नेहरूलाई देशका युवा बाहिर गएको पीर छ।
जुगौँदेखि कोदालो नसमातेका हरूलाई अरूले खेती नगरको पीर छ।
आफैँले खेत- बारी मासेर घर बनाएकाहरूलाई “खेती योग्य जमीन सबै कंक्रिटका जंगलले ढाकिसके”, भन्ने चिन्ता छ।
अनि म हिन्दीमा छक्क पर्छु, “आखिर क्यों?”
तपाईँ र मबाहेक सबैको अवस्था यस्तै छ।
(लेखकको फेसबुकबाट साभार)