मरे पछि रिपोर्ट पोजेटिभ, अन्त्येष्टि गर्ने २५ जना जोखिममा

  • ख-
  • ख+

दमौलीः दुई दिन अघि पीसीआर ज्वरो आएर बिरामी परे पछि भानु १ साँखेटारकी करिब २५ वर्षिया महिला पुरनडिहीस्थित नगर अस्पतालमा भर्ना भइन् । अस्पतालमा अवस्था सुधार नभए पछि दमौली अस्पताल ल्याएर उनको एक दिन उपचार गरियो । तर पनि अझै अवस्थामा सुधार नआएको भन्दै दमौली अस्पतालले उनलाई पोखरा रिफर ग¥यो ।


पोखरा जाने क्रममा बाटोमा एम्बुलेन्समै सोमबार साँझ ती महिलाको ज्यान गयो । पुरनडिही र दमौली अस्पताल दुवैमा गरिएको परीक्षणका क्रममा महिलाको एन्टिजेन रिपोर्ट नेगेटिभ थियो । तर पनि कोभिड हुन सक्ने आशंकाकाबीच उनको पीसीआर नमूना परीक्षणका लागि पोखरा पठाइएको थियो ।


तर पछि उनको रिपोर्ट पोजिटिभ आए पछि अन्त्येष्टिमा खटिएका झण्डै २५ आफन्त जोखिममा परेका छन् । ‘मान्छे मर्नु अघि नै रिपोर्ट आएको भए सैनिककै सहायतामा अन्त्येष्टि गरिन्थ्यो होला,’ एक स्थानीयले दमौली न्युजसँग भने,‘तर ढिलो मरेपछि मात्र पोजिटिभ भनेर रिपोर्ट आयो । अब के गर्नु के नगर्नु ।’


बाटामै ज्यान गए पछि आफन्तले भानु १ को घाटमै ल्याएर राती अन्त्येष्टि गरेको जानकारी पाएको भानु नगरपालिकाका स्वास्थ्य प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए । ‘रिपोर्ट अन्त्येष्टि भए पछि मात्र आएको कुरा छ । नेगेटिभ नै ठानेर आफन्तले आफ्नै तरिकाले अन्त्येष्टि गरेको बुझेको छु ।’


उनले अब अन्त्येष्टिमा खटिएकाको पनि पीसीआर परीक्षण गरिनुपर्ने बताए । पोखरा लगिएकी ती महिलाको बाटामा ज्यान गए पछि आफन्तले एम्बुलेन्स नै घाटमा लगेर अन्त्येष्टि गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी