
दमौलीः तनहुँमा गएको २४ घण्टामा ९३ जनामा एकै साथ कोरोना संक्रमण पुष्टि भएको छ । एकै साथ थुप्रिएको प्रतिवेदन अद्यावधिक भएकाले एकै दिन आएको नतिजा अत्यधिक देखिएको हो । निर्देशनालयको विज्ञप्ति अनुसार ४५ महिला र ४८ पुरुष मा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमा व्यास नगरपालिकाका १३ तथा शुक्लागण्डकी नगरपालिकाका २० छन् । यसैगरी घिरिङका ९ छन् । दुई सय २४ जनाको रिपोर्ट आउन अझै बाँकी छ ।
तर स्वास्थ्य कार्यालय तनहुँले भने आज ५६ नयाँ संक्रमण देखिएको जिकिर गरेको छ । बाँकी भने दुई दिनको तथ्यांक जोड्दा देखिएको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले बताए । यो नतिजाले निम्न कुरा संकेत गर्दछ ः
१) उच्च संक्रमण दरः पछिल्ला दिनहरुमा आइरहेका संक्रमितको परीक्षण प्रतिवेदनमा संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले संक्रमण दर बढेको संकेत यसले गर्छ । निषेधाज्ञा जारी रहे पनि अझै संक्रमण दर नघटेको पनि यसले संकेत गरेको छ ।
२) एकै साथ रिपोर्ट आउनुको परिणाम
व्यास नगरपालिकाले आँफै पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्दा उसले नतिजा एक साता भन्दा ढिलो आउँदा व्यवस्थापन गर्न जटिलता देखिएको जिकिर गरेको छ ।
यस कुरालाई परीक्षण रिपोर्टले पुष्टि गरेको छ । तनहुँका स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारी पनि ढिलो नतिजा आएकाले समस्या देखिएको बताउँछन् । ‘एकै पटक धेरै दिनको नतिजा आउँदा बढी संक्रमण देखिएको छ,’ उनले दमौली न्युजसँग भने ।
३) ढिलो नतिजा आउँदा फैलिएको संक्रमण
एक सातासम्म पनि नतिजा नआउने समस्याले पीसीआर परीक्षणका लागि नमूना दिएका व्यक्ति पनि खुल्ला हिंड्ने प्रवृत्ति डरलाग्दो देखिएको एक जनप्रतिनिधिले बताए । ‘नमूनाको नतिजा आएको छैन । लक्षण पनि छैन,’ उनले भने,‘केही छैन भनेर हिंडेका मान्छेमा पोजिटिभ आउने गरेको छ ।’