भानु वृद्ध मृत्यु प्रकरणः दमौली अस्पतालले संक्रमित वृद्धलाई किन भर्ना लिन मानेन ?

  • ख-
  • ख+

दमौलीः कोरोना संक्रमणका कारण बिरामी परेर दुई पटक भर्ना प्रयास गर्दा समेत नपाएपछि भानु १ साजबोटेका ६५ वर्षिय वृद्धको ज्यान गएको खुलेको छ ।

पोखराको ओम अस्पतालमा परीक्षण गराए पछि संक्रमण पुष्टि भएका ती वृद्धले उपचारका लागि पटक पटक दमौली अस्पतालमा भर्नाको प्रयास गरे । तर दोश्रो पटकमा पनि भर्ना नपाउँदा निकै ढिला भैसकेको थियो । अब उनको अस्पताल होइन, स्वर्गवास भएको छ ।


पोखरामा कोरोना परीक्षण गराएर घर फर्केका उनलाई शास फेर्न गाह«ो भए पछि गत शुक्रबार रातको दुई बजे बल्लतल्ल एम्बुलेन्स खोजेर छिमेकीले दमौली अस्पताल पठाए । तर अस्पतालले उनलाई भर्ना लिन मानेन । ‘अवस्था राम्रो छ, यत्तिको बिरामी अस्पताल भर्ना गर्नु पर्दैन,’ अस्पतालका चिकित्सकको भनाई उद्धृत गर्दै उनलाई अस्पताल पठाउन पहल गरेका वडा सदस्य खेमलाल थापाले भने,‘त्यसपछि उहाँ एक रात घर बस्नुभयो । तर फेरि गाह्रो भए पछि फेरि अस्पताल पठाएका हौं ।’

दोश्रो पटकमा पनि भर्ना नपाउँदा निकै ढिला भैसकेको थियो । अब उनको अस्पताल होइन, स्वर्गवास भएको छ ।


पहिलो पटकको पहलमा नै एम्बुलेन्स पाउन गाह्रो भएका ती वृद्धलाई आईतबार झनै गाह्रो भए पछि फेरि अस्पताल पठाउने प्रयास थालियो । विहान ६ बजेबाट प्रयास गर्दा नौ बजे मात्र एम्बुलेन्स पाएको एम्बुलेन्स खोज्न सक्रिय छिमेकी काजी थापाले बताए । ‘हात जोरेर भने जति रकम दिने भने पछि नौ बजे बल्लतल्ल एम्बुलेन्स पाउँदा उहाँको अवस्था झनै खराब भैसकेको थियो,’ उनले भने ।


त्यति गाह्रो गरेर अस्पताल पठाइए पनि दमौली अस्पतालले फेरि उनलाई भर्ना लिन मानेन । ‘पहिले राम्रो छ भनेर भर्ना नलिएको अस्पतालले यसपाली अवस्था खराब छ भनेर लिन मानेन,’ थापा भन्छन्,‘बिरामीले गाह्रो हुँदा भर्ना नै नपाउने हो भने किन चाहियो अस्पताल ।’

डाक्टर पौडेल भन्छन्,‘समयमा खबर नगरी आएकाले बचाउन सकिएन’

आफन्तले पटक पटक जाँदा पनि भर्ना नलिएको आरोप लगाइरहेका बेला दमौली अस्पताल व्यवस्थापनले भने आफूहरुकहाँ खबरै नगरी आएकाले बिरामीलाई उपचार दिन नसकिएको जिकिर गरेको छ । ‘पहिल्यै खबर गरेर आएको भए आवश्यक तयारी गर्न सकिन्थ्यो,’ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिल पौडेलले भने,‘एकै पटक आउँदा अवस्था खराब भएकाले पोखरा रिफर गरेका हौं ।’


तर संक्रमित ती वृद्धलाई चारवटा भेटिण्लेटर भएको अस्पतालमा भर्ना नै गरिएन । आफ्ना एक चिकित्सकले परीक्षण गर्दा ‘अवस्था जटिल रहेको र यहाँ उपचार नहुने देखेकाले रिफर गरिएको’ पौडेलको दाबी छ ।



‘समयमै भर्ना पाएको भए बच्नुहुन्थ्यो कि ’

तर आफन्त भने संक्रमित बिरामी भर्ना नै नलिने अस्पतालको नियत रहेको बताउँछन् । भिनाजु भर्ना गराउन आएका सालाले भने,‘दुई घण्टा एम्बुलेन्समै राखिएकाले उहाँको ज्यान गयो । समयमै भर्ना पाएको भए बच्नुहुन्थ्यो कि ।’
डाक्टर पौडेल भने आफूहरुले भर्ना लिंदा उपचार दिन सक्ने अवस्था बिरामीको नभएकाले समस्या भएको बताउँछन् ।

उनले समयमै थाहा पाएको भए तयारी गरेर भर्ना लिन सकिने बताए पनि आफन्तले भने भानुका स्वास्थ्य प्रमुखमार्फत खबर गरेरै आएको दाबी गर्छन् । यस विषयमा अनुसन्धान हुनुपर्ने माग आफन्तको छ । ‘लास राखेर द्वन्द्व गर्नु हुन्न भनेर सेनालाई अन्त्येष्टि गर्न दिएका हौं,’ छिमेकी काजीले भने,‘बिरामीले उपचार नै नपाउने यो अवस्थामा दोषीमाथि कारबाही नहुने हो भने अरु धेरैको ज्यान यसैगरी जान सक्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी