दमौलीः तनहुँमा सुरक्षित वैदेशिक रोजगारीका क्षेत्रमा क्रियाशिल सामी परियोजनाले प्रहरी र पत्रकारसँग बेग्ला बेग्लै अन्र्तक्रिया गरेको छ ।
वैदेशिक रोजगारीमा जानेको संख्या ठूलो रहेका बेला सुरक्षित रोजगारीका लागि परियोजनाले तनहुँमा खेलेको भूमिकाबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको तनहुँमा कार्यक्रम सञ्चालनमा सहकार्य गरिरहेको ग्रामीण सशक्तिकरण समाजकी कार्यक्रमकी संयोजक लुना रानाले जानकारी दिइन् ।

प्रहरीका लागि आयोजित अन्र्तक्रियाको प्रमुख जिल्ला अधिकारी सागर आचार्य तथा पत्रकारका लागि आयोजित अन्र्तक्रियाको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।
यसैगरी व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले सुरक्षित वैदेशिक रोजगारीका अवस्थाबारे प्रस्तुतीकरण दिएका थिए ।
परियोजनाका अधिकृत शैलेन्द्र मिश्रले तनहुँमा सञ्चालित परियोजनाले गरिरहेका काम र प्रभावबारे जानकारी दिएका थिए । गैर सरकारी संस्था समन्वय समिति तनहुँका अध्यक्ष प्रतापसिं गुरुङले परियोजनाले युवालाई स्वदेशमा फर्कंदा पुनस्र्थापना तथा विदेशमा रोजगारीमै रहँदा आवश्यक जानकारी दिएर खेलेको भूमिका सराहनीय भएको बताए ।
देशभर ३९ जिल्लामा सञ्चालित परियोजनाले तनहुँमा हालसम्म ठगिमा परेकालाई सात लाख ७० हजार फिर्ता गराएको तथा विभिन्न दुर्घटनामा मृतक र घाइतेका लागि सरकारमार्फत ७८ लाख ८४ हजार क्षतिपूर्ति प्रदान गरेको कार्यक्रम संयोजक रानाले जानकारी दिइन् ।
परियोजनाले जिल्ला प्रशासन कार्यालयमा केन्द्र राखेर वैदेशिक रोजगारीमा जानुपूर्व आवश्यक जानकारीका अलावा सीपमूलक तालिममा समेत सघाउँदै आएको छ ।











