दमौली : पर्यटकीय गन्तव्यहरूको सुरक्षा सुदृढ बनाउने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँले मानुङकोटसम्म दुईदिने लामो पैदल गस्ती सम्पन्न गरेको छ। गस्तीका क्रममा प्रहरी टोलीले स्थानीय बासिन्दा तथा आन्तरिक एवं बाह्य पर्यटकसँग प्रत्यक्ष भेटघाट गरी सुरक्षा सचेतना फैलाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साउन १५ गते अपराह्न ४ बजे प्रहरी नायब निरीक्षकको नेतृत्वमा १५ सदस्यीय प्रहरी टोली व्यास नगरपालिका–३ स्थित दुर्गा मन्दिरबाट पैदल गस्ती सुरु गरेको थियो। टोली मादी पुल, चापाघाट हुँदै व्यास–५ को प्रसिद्ध पर्यटकीय गन्तव्य मानुङकोट पुगेको थियो। पहिलो दिन टोलीले मानुङकोटस्थित भ्यू टावर परिसरमा मुकाम गरेको थियो।
गस्तीको अनुगमन तथा प्रहरी टोलीको मनोबल अभिवृद्धि गर्न साउन १६ गते बिहान ४:३० बजे प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा प्रहरी निरीक्षक अमृत लामिछानेसहित सात सदस्यीय अर्को टोली पनि मानुङकोट पुगेको थियो। बिहान ८:१५ बजे दुवै टोली पैदलमार्ग हुँदै फर्किएर बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका थिए।
प्रहरीका अनुसार गस्तीका क्रममा स्थानीयवासी, व्यवसायी तथा आन्तरिक एवं बाह्य पर्यटकसँग सुरक्षा अवस्था, सम्भावित जोखिम न्यूनीकरण, पर्यटकमैत्री वातावरण निर्माण तथा आवश्यक सावधानीबारे अन्तरक्रिया गरिएको थियो। यस प्रकारको पैदल गस्तीले पर्यटकीय क्षेत्रमा प्रहरीको उपस्थितिलाई थप प्रभावकारी बनाउनुका साथै पर्यटकमा सुरक्षा अनुभूति बढाउने विश्वास गरिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले पर्यटकीय क्षेत्रलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले यस्ता लामो दूरीका पैदल गस्तीलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।





