व्यास नगर कार्यपालिका निर्णयः विदेशबाट आउनेलाई ‘सकेसम्म १० दिन होम क्वारेन्टिन’, नसके वडामै क्वारेन्टिन

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले विदेशबाट फर्कनेलाई १० दिन सम्भव भएसम्म होम क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । विभिन्न मुलुकहरुबाट आउने नगर बासीहरुलाई टोल विकास संस्थाहरुको सहयोग र समन्वयमा न्यूनतम १० दिन होम क्वारेन्टिन सम्भव नभए वडामै सार्वजनिक स्थानमा क्वारेन्टिनको व्यवस्था मिलाउने निर्णय व्यास नगर कार्यपालिकाले गरेको छ ।


बुधबार बसेको कार्यपालिका बैठकले संक्रमितहरुको स्वास्थ्य अवस्था र त्यसको जटिलता हेरी त्यस्ता प्रकृतिका संक्रमितहरुलाई होम आइसोलेसन वा आइसोलेशन केन्द्रहरुमा राख्ने निर्णय गरेको छ ।


बैठकले क्वारेन्टिनमा सात जना भन्दा बढी बस्ेको अवस्थामा वडाका स्वास्थ्य केन्द्रबाट नै निःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । बैठकले सम्भावित परिस्थितिलाई मध्यनजर गरी आवश्यक जनशक्ति, एम्बुलेन्स र शव वाहनलाई तयारी अवस्थामा राख्न समेत सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय पनि गरेको छ ।


यस अघि नै नगर कार्यपालिकाले बुधबारबाट नगर क्षेत्रका विद्यालयमा भौतिक कक्षा सञ्चालन नगर्न तथा परीक्षा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पुरा गर्न निर्देशन दिएको छ ।


बैठकले नगर विकास कोषको ऋण सहयोग समेत यस व्यास नगरपालिकाको संयुक्त लगानीमा कार्यालय परिसरको उत्तर पूर्व तर्फ निर्माण प्रस्ताव गरिएको बहुउदेश्यीय भवन निर्माणका लागि आवश्यक प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने कार्यका लागि आवश्यक प्रकृया अगाडि बढाउनका लागि कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी