
दमौलीः नेपाल पत्रकार महासंघ तनहुँले सैनिक सडकमा दौडिएको दृश्य खिच्ने क्रममा अन्नपूर्ण मिडिया नेटवर्कका संवाददाता एवं दमौली न्युज डट कमका सम्पादक पवन पौडेलमाथि दुव्यर्वहार गर्ने सैनिकमाथि कारवाही गर्न माग गरेको छ ।
शाखा अध्यक्ष ओमकार आचार्य र सचिव उज्वल पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा कालीभञ्जन गण चापाघाटका एक सैनिक कमाण्डरले बुधबार विहान दमौली बजारमा तस्बिर लिएको भन्दै दृश्य हटाउनुका साथै गरेको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । गणका क्याप्टेन विजय थापा दुव्र्यवहारमा संलग्न भएको खुलेको थियो ।
विज्ञप्तिमा पत्रकार पौडेलमाथिको घटनाले निर्वाध ढंगले समाचार संकलन गर्ने कार्यमा अवरोध श्रृजना गर्ने मात्र नभै संविधानप्रदत्त मौलिक हकसहित प्रेस स्वतन्त्रतालाई नै कुण्ठित गर्न खोजेको ठहर गरिएको छ ।

विज्ञप्तिमा दुव्यर्वहार गर्ने सैनिकमाथि आवश्यक कार्वाही गर्न नेपाली सेनासँग मागसमेत गरिएको छ ।
रिपोर्टस क्लबद्वारा विज्ञप्ति
यसैगरी, रिपोर्टस क्लब नेपाल गण्डकी प्रदेसले समेत विज्ञप्ति जारी गर्दै घटनाले निर्वाधरुपमा समाचार संकलन गर्न पाउने अधिकार कुण्ठित बनाएको ठहर गरेको छ ।
प्रदेश अध्यक्ष मदन वाग्लेद्वारा जारी विज्ञप्तिमा गोपनियता भंग हुने अवस्थामा बाहेक त्यसरी तस्बिर र दृश्य खिच्न रोक लगाउन नमिल्ने भन्दै दोषीमाथि कारवाहीको माग गरिएको छ ।
यस अघि प्रेस युनियनले पनि विज्ञप्ति जारी गर्दै दोषी सैनिकमाथि कारवाहीको माग गरेको थियो ।