कांग्रेसलाई बलियो पार्न असहमतलाई पनि सुनौं

  • ख-
  • ख+

हुतमणि अधिकारी
कोरोना सन्त्रास लम्बिंदै जाँदा निर्धारित मितिमा कांग्रेस महाधिवेशन होला भन्ने कुरामा आशङ्का थपिएको छ । केही दिन यता विभिन्न सन्चार माध्यम र सामाजिक सन्जालमा आएका विचार र अनुमान अनुसार कोरोना भाइरस संक्रमणको देशव्यापी अवस्था र गति केही महिना लम्बिन सक्ने भएकोले पार्टी महाधिवेशनको कार्यतालिका कम्तीमा छ महिना धकेलिएर २०७८ को भदौ सम्म पुग्ने सम्भावना प्रवल बन्दै गएको छ ।

फागुनमा वा भदौमा जहिले हुने भए पनि कोरोनाको तीव्र संक्रमण, लकडाउन र निषेधाज्ञा बीच अहिलेदेखि नै कांग्रेसमा महाधिवेशनको ज्वरो चढ्दै गएको छ । केन्द्र देखी स्थानीय तहका वडा वडामा नेता कार्यकर्ताका गतिविधि, चहलपहल र सम्पर्क बढ्न थालेको छ।

सकेसम्म धेरै भन्दा धेरै आफ्ना पकेटका निकटका मान्छेलाई क्रियाशील सदस्यता दिलाउने, भिराउने होडबाजी र प्रतिष्पर्धामा पार्टी भित्रका गुट र गिरोह सक्रिय देखिन्छन् । आफुले छानेका मान्छेलाई क्रियाशील सदस्यता वितरण गर्ने, तिनकै बीचबाट आफु, आफ्नो गुट र आफ्नो नेता प्रति आज्ञाकारी, वफादार प्रतिनिधिहरु छनोट गरी अधिवेशनमा लैजाने, आफु अनुकुल पार्टी समिति र नेतृत्व स्थापित गर्ने योजना सहित गुटगत छलफल र मन्त्रणा पनि शुरु भइसकेको छ ।

बैठक, भेटघाट, फोन तथा भिडियो कल मार्फत वडा देखि जिल्ला नेतृत्वमा फलानालाइ ल्याउनुपर्छ र फलानालाइ आउन दिनुहुँदैन है भन्ने छलफल र कानेखुसी बाक्लिन थालेको छ ।

बैठक, भेटघाट, फोन तथा भिडियो कल मार्फत वडा देखि जिल्ला नेतृत्वमा फलानालाइ ल्याउनुपर्छ र फलानालाइ आउन दिनुहुँदैन है भन्ने छलफल र कानेखुसी बाक्लिन थालेको छ ।
नेतृत्व चयनमा स्वभाविक र सहज रुपमा कार्यकर्ताहरुको विवेकको रोजाइ स्वतन्त्र छनोटको अवसर छायाँमा पार्न र आफु अनुकूल प्रभावित तुल्याउन हदैसम्मको कसरत हरकत गर्ने परिपाटी संस्थागत हुँदा पार्टी भित्रको आन्तरिक चुनावको विभाजन, वैरभाव र मनोमालिन्य कहिल्यै निको नहुने उकुच पल्टेको शुल बनेर आम चुनावका बेला घात अन्तरघातको रुपमा प्रकट हुने गरेको पाइन्छ ।

एउटा अधिवेशनमा बनेको लबी, समूह, गुट र उम्मेदवारको जय पराजय वर्षौंसम्म स्थायी शत्रुता र प्रतिशोधको रुपमा रहँदै जाँदा पार्टी विभिन्न गुट उपगुट र स्वार्थ समुहको अखडा बन्न पुगेको तीतो यथार्थ सबैसामु छर्लङ्ग छ ।

हार जीतलाइ स्वभाविक प्रकृयाका रुपमा स्वीकार्ने, बहुमतको निर्णय मान्ने, अल्पमतको कदर गर्ने, सल्लाह, सहमति, समन्वय र समझदारी पुर्वक सबैलाई समेटेर सामुहिक भावनाले चल्ने, पार्टी र सम्पूर्ण सांगठनिक गतिविधि मनोगत र गुटगत हिसाबले नभइ विधि बिधान पद्धति अनुरुप सन्चालन गर्ने परिपाटी बस्न नसक्नु, पद र सत्तामा बस्नेहरुले अलपमत र फरक मतलाई पेलेरै जाने, अल्पमत र असहमतहरुले जेमा पनि विरोध मात्रै गर्ने, अत्तो थाप्ने, असफल अयोग्य सावित गर्न मरिमेटेर लाग्ने प्रवृत्ति आत्मघाती बन्दै गएको छ ।

पार्टीभित्र नेतृत्व चयनका लागि हुने स्वभाविक उत्तम लोकतान्त्रिक अभ्यासलाइ खेल भावनको रुपमा लिन नसक्दा , जित्ने वा हार्नेहरुमा राजनीतिक संस्कारको अभावमा बिपक्षी पार्टीका नेता कार्यकर्ता सित मिलेर आफ्नै पार्टीका प्रतिष्पर्धीको शेखी झार्ने, तेजोबध गर्ने र राजनीतिक जीवन समाप्त पार्न उद्यत हुने सम्मका गतिविधिबाट संगठनलाई जोगाउने गम्भीरतातर्फ जिम्मेवार नेतृत्वले ध्यान पु¥याएको पाइँदैन ।

जसरी पनि आफु अनुकूल नेतृत्व र संगठन बनाउने वा पार्टी कब्जा गर्ने अस्वस्थ, अलोकतान्त्रिक, अशोभनीय प्रयत्न, गतिविधि र अभियानमा पार्टी भित्रका सबै शक्ति, व्यक्ति, गुट, गिरोह सक्रिय हुन थाल्दा बदलिँदो बिश्व परिवेश, छिमेकीसंगको तनावपूर्ण सम्बन्ध, देशभित्रको आर्थिक, सामाजिक संकटग्रस्त अबस्था बीच हुन लागेको ऐतिहासिक महाधिवेशनले तय गर्नुपर्ने नीति, सिद्धान्त, कार्यदिशा र कार्यभार केवल नेतृत्वको होडबाजी र नेतृत्व परिवर्तनको एजेन्डामा मात्र सिमित भएर ओझेलमा पर्ने हो कि भन्ने चिन्ता र चासो सर्वत्र व्यक्त हुन थालेको छ ।


ऐतिहासिक गौरव बोकेको देशको सबैभन्दा ठूलो र भरपर्दो लोकतान्त्रिक पार्टीको आन्तरिक जीवनमा मौलाएको अलोकतान्त्रिक, असहिष्णु चरित्र, संस्कार र पद्धति नियन्त्रणमा बेलैमा ध्यान पु¥याउन सकिएन भएन भने प्रजापरिषदको नियति भोग्नबाट कसैले रोक्न सक्दैन । अहिले सम्पूर्ण बिश्व समुदाय सहित देश चरम संकटबाट गुज्रिरहेको छ ।

देशमा कम्युनिस्टको सरकार छ, उ चौतर्फी रुपमा असफल र आलोचित छ । पार्टी भित्रको आन्तरिक किचलो, देशभित्रको सर्भिस डेलिभरी, छिमेकी संगको लगभग टुटेको सम्बन्ध ,कुटनैतिक मन्चमा कमजोर उपस्थिति । काङ्ग्रेसले यी समग्र पक्षमा नयाँ दृष्टिकोण र विचार अगाडि ल्याउनुपर्छ । राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक मुद्दा र विषयहरुमा प्रष्ट नीति, कार्यक्रम, कार्य दिशा आउनुपर्छ ।

ऐतिहासिक गौरव बोकेको देशको सबैभन्दा ठूलो र भरपर्दो लोकतान्त्रिक पार्टीको आन्तरिक जीवनमा मौलाएको अलोकतान्त्रिक, असहिष्णु चरित्र, संस्कार र पद्धति नियन्त्रणमा बेलैमा ध्यान पु¥याउन सकिएन भएन भने प्रजापरिषदको नियति भोग्नबाट कसैले रोक्न सक्दैन ।


विगतमा पटकपटक सत्तामा पुगेर, जनताको अपार विश्वास र मत हासिल गरेर पनि कांग्रेस किन आज यो अवस्थामा आइपुगेको छ, अहिले देखिएका गतिविधि र अलमलले अझ कहाँ पु¥याउला भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । संस्कार र पद्धतिमा सुधार ल्याउनुपर्छ, दोष अरुलाइ थुपारेर पानी माथिको ओभानो बन्ने छुट लामो समयदेखि पार्टीको नेतृत्वमा बस्नेहरु कसैलाई छैन । काङ्ग्रेसको नियति र निर्णयसंग देशको भाग्य र भविष्य जोडिएको हुनाले सम्भावित दुर्घटनाबाट पार्टी र देशलाई जोगाउन यसका जिम्मेवार नेता कार्यकर्ताका साथै शुभेच्छुक बुद्धिजीवीहरुले पनि गम्भीरता देखाउन जरुरी छ ।

आसन्न यो महाधिवेशन गुटगत पक्षपोषण र लेनदेनको जगमा उभिएर नेतृत्व चयनको औपचारिकता पुरा गर्ने , यथास्थितिलाई निरन्तरता दिने कुम्भमेलामा मात्र सीमित हुनुहुँदैन । देशलाई नयाँ दिशा, नयाँ गति दिने सुष्पस्ट बिचार दृष्टिकोण र नेतृत्व पैदा गर्ने कार्यशाला बन्नुपर्छ।

टोल, वडा, स्थानीय तह, जिल्ला, प्रदेश देखि केन्द्रीय तह सम्मका नेता, नेतृत्व र समितिहरु निश्चित नेताका आदेश निर्देशमा मात्र चल्ने नियोजित, प्रयोजित भन्दा पनि विधि सम्मत र सहज, स्वभाविक रुपमा योग्य, इमानदार, जिम्मेवार, सक्षम, अनुशासित र पद्धतिमा चल्ने, परम्परागत शैली बदल्ने, संगठनमा नयाँ उर्जा प्राण भर्न सक्ने, आशा जगाउन सक्नेहरु अटाउने र आउने वातावरण बनाउन सबैले इमानदार र गम्भीर बन्नैपर्छ । निहित व्यक्तिगत, गुटगत स्वार्थ र अहंकार त्याग्नैपर्छ ।

(लेखक नेपाली काङ्ग्रेस केन्द्रीय संघीय मामिला तथा प्रदेश समन्वय विभागका सदस्य हुन् । )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी