
दमौली: तनहुँ उद्योग वाणिज्य सङ्घको १६ औं महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि उम्मेदवारको मनोनयन हुँदैछ । व्यापारी व्यवसायीहरुको छाता संगठनको नयाँ नेतृत्व चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुनेछ ।
यसैको पूर्वसन्ध्यामा सोमबार मनोनयनको समय तय गरिएको हो ।सङ्घको नेतृत्वका लागि सार्वजनिक रुपमा प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, पूर्वमहासचिव पवित्र कुमार श्रेष्ठ र पूर्वपदाधिकारी सूर्यनाथ खनाल आकांक्षी देखिएका छन् ।
सङ्घको सचिवालय दमौलीमा हुने मनोनयनमा अध्यक्षसहित प्रथम उपाध्यक्ष र अन्य पदाधिकारीको लागि केहीले यसअघि नै आफुले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने केहीले सोमबार दिनेछन् ।सोमबार बिहान 8 बजेबाट सुरु हुने मनोनयन दिउँसो ४ बजेसम्म चल्ने संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन्।
संघका पूर्व अध्यक्षहरु सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा छन् । आफूनिकट व्यवसायीहरूबीच अध्यक्ष लागि प्रतिस्पर्धा हुन नदिन कांग्रेसले अन्तिम प्रयास गरिरहेको छ । आफूनिकट व्यापारीबीच प्रतिस्पर्धा हुने गरेको विगत हेरेर यसपालि जिल्ला नेतृत्वले सहमतिका लागि गरेको प्रयासले कत्तिको सफलता पाउने छ त्यो भने केही दिनमै थाहा हुनेछ।