अनि नवराज गायक भए……. (भिडियो सहित )

  • ख-
  • ख+

दमौलीः कलेज पढ्दाताकाको समय हो । युवा नवराज थापा कलेजकी सहपाठी एक युवतीलाई मन पराउँथे । मन मनै मन पराए पनि भन्न सकेनन् । आँखा हेराहेर पनि हुन्थ्यो । ‘मैले मन पराएको सायद उनले थाहा पाइनन्,’ नवराजले पुराना दिन सम्झिए,‘त्यो मेरो एकोहोरो प्रेम थियो ।’


व्यास नगर क्षेत्रलाई आधार बनाएर गायनमा सक्रिय नवराज थापालाई अहिले धेरैले गायकका रुपमा चिन्छन् । सानै उमेरदेखि गायनमा लगाव भएका नवराज स्वभावले भने अन्र्तमुखी छन् ।

यस क्षेत्रमा पत्रकार डम्बर अधिकारीको शब्द रहेको ‘हाम्रो व्यास नगर’ गीतबाट बढी चिनिएका थापाले त्यस अघि आफ्नै शब्द र स्वरमा केही गीत पनि ल्याएका थिए । ‘बसन्तको बहार’ तीमध्येको एक थियो ।

यो गीत तिनै प्रेमिकाका लागि रचिएको थियो । ‘मैले आफ्ना कुरा भन्न नसकेपछि उनीसँगको प्रेम बढ्ने कुरा पनि भएन,’ नवराज भन्छन्,‘अनि त्यही कथामा मैले गीत गाएँ ।’

पत्रकारका शब्दले चिनायो
हालै मात्र लाखौं तारा गीतको भिडियोसाथ बजार आएका उनले यो गीत गाएको केही अघि नै हो । यो गीत पत्रकार अमरराज नहर्कीले लेखेका हुन् । यो गीत दमौली आसपासका कन्सर्टहरुमा उनले धेरै गाउने मध्ये पर्छ । उनलाई पत्रकारको गीतले चिनाउन मद्दत पुगेको जस्तो लाग्छ । भन्छन्,‘उहाँहरुका गीतले मलाई चिनाउन धेरै सघायो ।’


हाम्रो व्यास नगरका अलावा पत्रकार डम्बर अधिकारीका तनहुँ कालिका गीतले पनि यस क्षेत्रमा स्थानीय पहिचानको काम गरेको छ । हालै अर्का पत्रकार प्रदीप काफ्लेको गीत पनि गाउन भ्याए,नवराजले । ‘कोरोनासम्बन्धी सचेतनामूलक गीतलाई धेरैले रुचाए,’ उनले भने,‘पत्रकारका सबै गीतले चर्चा बटुल्न सघाइरहेका छन् ।’


स्थानीय कलाकारलाई अवसर कम हुँदा समस्या
गायक नवराज दमौलीको पहिलो दौंतरी ब्याण्डका सदस्य पनि थिए । एकताका यस क्षेत्रमा हुने कन्सर्टहरुमा उपस्थिती जनाउने ब्याण्डमार्फत चोक मश्रांगीले गाएको ‘पञ्च मन्दिर छेउ’ चलेको थियो ।

विक्रम संवत ५० को दशकका यस क्षेत्रका युवा सबैको मुखमा यो गीत कण्ठ छ । तर गीत ल्याउने ब्याण्ड भने बिलायो । ब्याण्डका त्यस समयका सक्रिय सदस्य मनराज गुरुङ अहिले जापानलाई कर्मभूमि बनाइरहेका छन् ।

नवराज त्यो ब्याण्डको अस्तित्व हराउनुमा यस क्षेत्रमा कलाकारलाई महत्व नदिइनु पनि एक कारण मान्छन् । ‘यहींको कार्यक्रममा कलाकारलाई ठाउँ दिइंदैन,’ उनी भन्छन्,‘त्यसैले गाएर मात्र टिकीरहन गाह्रो छ ।’

कार्यक्रम नचल्ने त्रासमा यसो भएको हुनसक्ने उनको अनुमान छ । ‘कार्यक्रम चल्दैन भनेर हो की यहाँका गायक गायिकालाई अवसर दिइंदैन,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्