
बन्दीपुरः तनहुँको बन्दीपुरमा रोटरी युथ लिडरसीप अवार्ड ‘राइला’ शुरु भएको छ ।
रोटरी इन्टरनेशनल क्लब ३२९२ डिष्ट्रिक्ट अन्तर्गत रिजन–४को आयोजनामा शुरु तीन दिन चल्ने कार्यक्रम रोटरी क्लब अफ दमौलीको व्यवस्थापन एवं रिजन ४ मा रहेका १७ वटा रोटरी क्लबको सहयोगमासुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै रोटरी इन्टरनेशनल क्लब ३२९२ डिष्ट्रिकटका पूर्व गभर्नर रबिन्द्रकुमार पियाले राज्यको भविष्य निर्धारक अहिलेका युवा र बालबालिकाहरु भएकाले उनीहरुमा हरेक क्षेत्रको विस्तारित ज्ञान हुन आवश्यक रहेको बताए ।
समाजको वस्तुस्थिती बुझेका तथा ज्ञान र सीप भएका युवाहरु उत्पादन भएमात्र देशको भविष्य सुरक्षित हुने उनको धारणा छ । अबको नेतृत्व युवाहरुको हातमा हुनुपर्ने बताउँदै उनले भने, ‘हरेक क्षेत्र बुझेको सक्षम नेतृत्व आजको आवश्यकता हो ।’

कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुरको इतिहास जीवन्त रहने गरी योजनावद्ध ढंगले विकास गर्न २० वर्षे गुरुयोजना बनाएर अघि बढेको बताए ।
बन्दीपुर ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक सम्पदाका दृष्टिकोणले पनि महत्वपूर्ण भएकाले यहाँको सम्पदाको जर्गेना गर्दै आर्थिक समृद्धिको मार्गमा पनि अघि बढ्ने खालका योजना बनाएर गतिविधि सञ्चालन गरेको थापाले सोही अवसरमा जानकारी दिए । ‘प्राचीनकला, शैलीलाई पनि सँगै संरक्षण र प्रवद्र्धन गरिंदै आएकाले बन्दीपुर विस्थापित भएर पनि पुनःस्थापित हुन सफल भएको छ , यसका बारेमा नयाँ पुस्ताले जान्न आवश्यक छ’ उनले भने ।
रोटरी क्लबले सो उमेर समूहका युवाहरुको व्यक्तित्व विकाससँगै सामाजिक दायित्वबोध गराउँदै उनीहरूमा नेतृत्वदायी क्षमताको विकास गराउन प्रत्येक वर्ष रायला कार्यक्रम गर्दै आएको रिजन–४का रायला कार्यक्रम संयोजक जयराम पौडेलले जानकारी दिए ।
‘युवाहरुले जीवन र जगतको बोध गरी सकारात्मक सोचका साथ भविष्यमा हरेक क्षेत्रमा सक्षम नेतृत्वदायी भूमिका निर्वाह गर्न सकुन भन्ने उद्देश्यका साथ रोटरी रोटरी युथलिडर सीप अवार्ड कार्यक्रम सुरुवात गरिएको हो’ उनले भने ।
युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास, सकारात्मक सोच, व्यक्तिगत एवं सामुदायिक स्वास्थ्य लगायतका विषयमा प्रशिक्षण दिइने चिफ पाइलट कोच हरिसिं गुरुङले जानकारी दिए ।
साथै बन्दीपुरका प्राकृतिक एवं सांस्कृतिक सम्पदाको अवलोकनका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउन विभिन्न ठाँउहरुको स्थलगत भ्रमण समेत गराइने गुरुङले बताए ।
कार्यक्रममा रोटरीका डिआरसिसि सुवास सिग्देल, जोन १७ का एजि बिष्णुहरि तिमल्सेना, जोन १५ का एसिसटेन्ट गभर्नर इबिन्द्रराज तिवारी, रोटरी क्लब अफ अन्नपुर्णका अध्यक्ष प्रदीपभक्त आचार्य, रोटरी क्लबका अध्यक्ष दमोदर भण्डारी, सचिव सागर पौडेल लगायतले युवाहरुको लागि महत्वपूर्ण अवसरको रुपमा स्थापित भएको बताए ।
कार्यक्रममा रिजन–४अन्तर्गतका १४ देखि १८ वर्ष उमेर समूहका ४९ जना युवाहरुले सहभागीता जनाएका छन् ।
कार्यक्रम अवधिभर सैद्धान्तिक ज्ञानसँगै बाख्रा अनुसन्धान केन्द्र, खड्गदेवी मन्दिर, निर्माणाधिन मिनी ग्रेटवाललगायत बन्दीपुरका सम्पदाहरुको बारेमा स्थलगत अवलोकन समेत गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।