
दमौलीः दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान परिवर्तन विधानसम्मत नभएको जिकिर गर्दै एक समूहले प्रशासनमा विरोध जनाएको छ । नेकपा एमालेनिकट नेताहरुको एक समूहले प्रशासन कार्यालयमा गएर संस्थाको विधान संसोधन नियमसम्मत नभएको भन्दै विरोध जनाएको हो ।
संस्थाको साधारण सभाले यस अघि प्रत्यक्ष रुपमा निर्वाचित हुने पदाधिकारीको साटो निर्वाचित सदस्यबाट मनोनित गरिने तथा समावेसिताका आधारमा सदस्य चयन गर्ने गरी विधानमा संसोधन गरेको थियो ।
शनिबार प्रशासन पुगेको समूहले विधान परिवर्तन नियम नपुगेको जिकिर गरेको छ । समूहका एक सदस्य प्रदीपराज अधिकारीले प्रशासनबाट अनुमति नआइकन निर्वाचनसम्बन्धी विधान परिवर्तन भएकाले विरोध गरेको दाबी गरे । उनले निवेदन दर्ता गर्न जाने पनि बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले विधान संसोधनको विरोधका लागि एक समूह आए पनि औपचारिक निवेदन नआएको बताए । ‘कुनै निवेदन आएको छैन,’ उनले भने,‘उहाँहरुले विधान संसोधनमा असहमति जनाउनुभएको छ ।’
संसोधन कानुन सम्मत नै छः जोशी
संस्थाकी निवर्तमान अध्यक्ष मीरा जोशीले विधान संसोधन विधानसम्मत रहेको बताइन् । ‘साधारण सभाले विधान सर्वसम्मतिले पारित गरेको छ,’ उनले भनिन्,‘यो विरोधका लागि विरोध मात्र हो ।’ उनले साधारण सभा नै विधान संसोधन गर्ने निकाय भएकाले यसले पारित गरेको विषय अब प्रशासनमा जाने बताइन् ।
‘संसोधन भएकै दिन राती जाने कुरा भएन । साधारणसभाले कानूनअनुसार पारित गरेको विषयलाई प्रशासनले रोक्न मिल्दैन’ उनले भनिन् ।
साधारणसभाले संविधानका धारासँग नबाझिने गरी समावेसिता कायम राख्न विधान परिमार्जन गरेको र त्यो पारित भएकाले प्रशासनले यसलाई स्वतः अनुमोदन गर्ने बार एसोसिएसन तनहुँ जिल्ला अदालत बार एकाईका अध्यक्ष अमृतबहादुर नेपालीले बताए । ‘यो विधान अनुसार नै छ,’ उनले भने,‘साधारण सभाले पारित गरेको विषयलाई प्रशासनले रोक्न मिल्दैन ।’