दमौली खानेपानीको नेतृत्वमा सबैको चासो किन ?

  • ख-
  • ख+

पवन पौडेल

दमौलीः दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । लामो समय स्थानीय सामाजिक संघ संस्थाको चुनाव नभएका बेला यस संस्थाको चुनावलाई महत्वका साथ हेरिएको छ ।


१) नेतृत्वको खुट्किलो
नगरपालिकामा स्थानीय तह पछिको बलियो र धेरैको सरोकार भएको र श्रोत साधन समेत भएका कारण दमौली खानेपानीको नेतृत्वलाई धेरैले चासोपूर्वक हेरेका छन् ।

हालकी अध्यक्ष मिरा जोशी उप प्रमुखमा विजयी भएकी तथा विगतका अध्यक्ष शान्तिरमण वाग्ले जिल्ला समन्वय समिति प्रमुख भएबाट पनि संस्थालाई भावी जिल्लाको नेतृत्वमा अघि बढ्ने खुट्किलोका रुपमा कतिपयले बुझेका छन् । यसर्थ पनि नेतृत्वको दौडमा आकांक्षी बढी हुनु स्वाभाविक देखिन्छ ।


२) बजारको पानीको श्रोत
दमौली बजार मात्र नभएर आसपासका विस्तारित क्षेत्रमा समेत दमौली खानेपानीमार्फत नै पानी वितरण हुँदै आइरहेको छ । तीन हजार पाँच सय ३५ घरधुरीमा पुग्ने अति आवश्यक पानी वितरण हुने भएकाले संस्थाको नेतृत्वमा पुग्नु धेरै नगरवासीसँगको सोझो सम्पर्कको अवसर बन्नेछ ।

ठूलो जनसंख्यालाई अति आवश्यकीय पदार्थको वितरण गर्ने एक मात्र श्रोत भएका कारण पनि दमौली खानेपानी बजारको मुख्य संस्थाका रुपमा उपस्थित भएको छ ।

३) श्रोत साधनको परिचालन
दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आफ्नै भवन छ । उपभोक्ता, सरकार र दाताको करोडौं लगानीमा स्थापित संस्थासँग भौतिक सम्पत्तिका अलावा आफ्नै सुविधासम्पन्न सवारी साधन पनि छ ।

बलियो संस्थाको नेतृत्वमा जाने रहर जोकोहीलाई हुनु अस्वाभाविक होइन । जनप्रतिनिधिपछिको बलियो श्रोत साधन भएका कारण पनि संस्था पछिल्लो समय आकर्षण बन्न पुगेको छ ।


४) काम गरेर देखाउने अवसर
स्थापनाकालमा पानीको अभाव बेहोरे पनि पछिल्ला वर्षमा संस्थाले पानीको आपूर्ति बढाएर अवस्थालाई केही सहज बनाएको पनि थियो । तर मादी नदीबाट तानिएको पानी पर्याप्त मात्रामा आउन नसके पछि अहिले केही भागका उपभोक्ता मर्कामा छन् ।

चुहावट नियन्त्रण अनि सुधार गर्दै नियमित रुपमा प्रशस्त पानीको आपूर्ति र सहज व्यवस्थापन गर्न सक्ने व्यक्तिका लागि दमौली खानेपानी नेतृत्व देखाउने मञ्च भएका कारण पनि काम गर्न चाहनेका लागि समेत यो एउटा प्रमुख आकर्षण बन्न पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी