दमौली खानेपानी अधिवेशनः आकांक्षी बढी हुँदा कांग्रेसलाई दबाब

  • ख-
  • ख+

दमौलीः दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न चौथौं अधिवेशनको मिति नजिकिंदै गर्दा आफूनिकट आकांक्षी बढी भए पछि उम्मेदवार छान्न कांग्रेस नेतृत्व दौडधुपमा लागेको छ ।


नयाँ अध्यक्षका लागि सार्वजनिक रुपमा चर्चामा रहेका अधिकांश उम्मेदवार पार्टी निकट भए पछि अहिले तनहुँ कांग्रेस नेतृत्वले पार्टीको आधिकारिक उम्मेदवार छान्नका लागि गृहकार्य तीव्र पारिरहेको छ ।

बुधबारबाट उम्मेदवार तय गर्नका लागि औपचारिक रुपमा छलफल थालेको कांग्रेस नेताहरुको कार्यदलले बिहिबार पनि छलफल जारी राखेको छ । ‘चुनावमा उम्मेदवार चयन गर्न छलफल भैरहेकोछ,’ छलफलमा सहभागी एक कांग्रेस नेताले भने,‘सकेसम्म सर्वसम्मत उम्मेदवार छान्ने प्रयास भैरहेको छ ।’


पार्टीले व्यास नगर सभापति शान्तिरमण वाग्ले, संस्थाकी वर्तमान अध्यक्ष मीरा जोशी, महाधिवेशन प्रतिनिधि डोवाटे विक, सचिव विश्व बाँस्तोला तथा नेता अशोककुमार श्रेष्ठलगायतलाई यस सम्बन्धमा छलफल र धारणा तय गर्न जिम्मेवारी दिएको बुझिएको छ ।


तनहुँ उद्योग वाणिज्य संघको चुनाव समेत नजिकिन लागेकाले त्यसमा असर पर्न नदिने गरी साझा उम्मेदवार चयन गर्नुपर्ने दबाबमा कांग्रेस छ ।


हाल सार्वजनिक रुपमा चर्चामा रहेका संस्थाका उपाध्यक्ष रामचन्द्र न्यौपाने, कोषाध्यक्ष बुद्धिमान श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वृषराज श्रेष्ठ तथा नेविसंघका पूर्व सह महामन्त्री लक्ष्मीभक्त खनाल सबै पार्टीसम्बद्ध भएकाले शनिबार तय उम्मेदवार मनोनयनपूर्व नै पार्टीबाट सर्वसम्मत नाम छान्ने गृहकार्य गरिने कांग्रेसले जनाएको छ ।


चर्चामा आएका सबै उम्मेदवार तीव्र आकांक्षी देखिए पछि नेतृत्वले नाम टुंग्याउन बढी पापड बेल्नुपर्ने देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी