नारिश्वर तालः स्थानीयलाई एक करोड ३७ लाख मुआब्जा

  • ख-
  • ख+

दमौलीः व्यास १० दुम्सीचौर क्षेत्रमा निर्माण हुने क्रममा रहेको नारिश्वर तालका लागि व्यास नगरपालिकाले स्थानीयसँग एक करोड ३७ लाख ८६ हजार रुपैयाँमा जमिन खरिद गरेको छ । स्थानीयका तर्फबाट नगरपालिकाले बुझाएको लाभ करसहित यो रकम एक करोड ४२ लाख पुगेको छ ।


२६ कित्तामा रहेको २४ रोपनी ११ आना एक पैसा जग्गा व्यास नगरपालिकाको नाममा आएको छ । ऐलानी ५० सहित झण्डै ७५ रोपनी क्षेत्रफल जग्गामा नगरपालिकाले ताल बनाउने योजना बनाएको छ ।


झण्डै करिब चार करोड रुपैयाँ लागतमा बन्न लागेको तालका लागि गण्डकी प्रदेश सरकारले बाँध बाँध्न एक करोड १५ लाख दिने भएको छ । प्रदेश सरकारबाट प्राप्त हुने रकमलाई नगरपालिकाले बाँध बनाउने काममा खर्चने भएको छ ।


नगरपालिकामा आयोजित कार्यक्रममा लालपूर्जा ग्रहण गर्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेले पर्यटकीय विकासका लागि ताल उपयोगी हुने बताए । उनले ताल क्षेत्रमा नगरपालिकाले दुम्सीको सालिक पनि बनाउने र पर्यटकीय पूर्वाधारमा स्थानीयलाई सघाउने बताए । भावी दिनमा निजी क्षेत्रलाई समेत तालमा उपयोग गर्ने नीति नगरपालिकाको छ ।


व्यास १० का वडाध्यक्ष तुलसीराम सापकोटाले स्थानीयले नै बनाउने भने पनि सम्भव नभएकाले नगरपालिकालाई हस्तान्तरण गरिएको बताए । अब ताल तथा अरु संरचनाले प्रशस्त पर्यटक तान्ने उनले आशा गरे । उनले स्थानीयले पनि यसबाट रोजगारी पाउने दाबी गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी