पत्नीको स्मृतिमा मीनराज श्रेष्ठद्वारा शिव पाञ्चायनका ७५ विद्यार्थीलाई खेल पोशाक

  • ख-
  • ख+

दमौलीःदमौलीका अग्रज व्यवसायी मीनराज श्रेष्ठले आफ्नी पत्नीको स्मृतिमा शिव पाञ्चायन अंग्रेजी माध्यमिक विद्यालयका ७५ जना निम्न आय भएका विद्यार्थीलाई खेल पोशाक सहयोग गरेका छन् । विद्यालयमा आयोजित कार्यक्रममा श्रेष्ठले स्वर्गीय पत्नी बालकुमारीको स्मृतिमा बालबालिकालाई ७५ हजार रुपैयाँ बराबरको खेल पोशाक वितरण गरेका हुन् ।


कार्यक्रममा व्यास ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले बालबालिकाका लागि श्रेष्ठले पुर्याएको सहयोग सराहनीय भएको बताए । उनले विद्यालयको वृत्ति विकासमा वडाका तर्फबाट सक्दो सघाउने प्रतिवद्धता पनि जनाए ।


श्रेष्ठका भाई एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य वृषराज श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका कारण समस्यामा परेका बालबालिकालाई सघाएको भन्दै प्रशंसा गरे । उनले आफ्ना तर्फबाट पनि थप २० बालबालिकालाई पोशाक दिने घोषणा गरे ।
श्रेष्ठले खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्वका लागि समेत कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरे ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलराम वाग्लेले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पोशाक वितरण गर्न थप २० जना आवश्यक रहेको भन्दै त्यसका लागि सुभेच्छुकको सहयोग नपाए आफैं सहयोग दिने घोषणा गरे ।


सोही कार्यक्रममा अजय फर्निचरका सञ्चालक बाबुराम पुरीबाट १० हजार तथा हेल्लो बुक्स एण्ड स्टेशनरीका मिलन श्रेष्ठबाट २० हजार रुपैयाँ बराबरको सहयोग भएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर विकले सबैलाई खेल पोशाकसहित आधुनिक शिक्षा उपलब्ध गराउने काममा सघाएको भन्दै श्रेष्ठ परिवारप्रति आभार प्रकट गरे ।
कार्यक्रममा विद्यालयका संस्थापक मध्येका एक एवं सहयोग समन्वय समितिका संयोजक विष्णुभक्त न्यौपाने, श्रेष्ठका पुत्र गोविन्द श्रेष्ठलगायतले बोलेका थिए ।


एक सय ७५ विद्यार्थी आर्थिक अवस्था कमजोर भएका कारण खेल पोशाक नपाउने अवस्थामा रहेकाले आफूले सहयोगका लागि पहल गरेको स्थानीय प्रमोद पाण्डेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी