तेश्रो मेयर कप ब्याडमिन्टनमा विशाल र प्रनिशसिंको जोडी विजेता

  • ख-
  • ख+

दमौलीः प्रजातन्त्र दिवसको अवसर पारेर दमौलीमा सञ्चालित तेस्रो मेयर कप व्याडमिन्टन प्रतियोगितामा पोखराका विशाल बस्नेत र प्रनिशसिं ठकुरीको जोडीले उपाधि उचालेको छ ।


व्यास नगर ब्याडमिन्टन क्लबको आयोजनामा दमौलीमा सञ्चालित प्रतियोगिताको शनिबार भएको ए लेभलतर्फको फाइनलमा बस्नेत र ठकुरीको जोडीले धादिङका सुजन थापा र भिषण श्रेष्ठलाई पराजित गरेको थियो । २१–१५ र २१–११ को सेटमा विजयी हुँदै जोडीले उपाधिमाथि कब्जा जमाएको हो ।

बि लेभलतर्फ व्यास नगर ब्याडमिन्टन क्लबका बिपिन घले र ठगेन्द्र राना विजेता भएका छन् । उनीहरुले धादिङका राम मल्लठकुरी र लक्ष्मण मल्लठकुरीको जोडीलाई ११–२१, २१–१३ र २१–१५ को सेटले हराएका थिए ।

सि लेभलतर्फ झापुटारका अमर थापा र अमर थापा प्रथम भएका छन् । उनीहरुले व्यास नगर ब्याडमिन्टन क्लबका सुजित र मेख रानाको जोडीलाई १७–२१, २४–२२ र २१–१५ को सेटले पराजित गरे ।

महिला विधातर्फ आयोजक क्लबका रुबी श्रेष्ठ र सानुमाया श्रेष्ठ प्रथम भएका छन् । दमौलीको जोडीसँग पोखराका अनिता गुरुङ र चन्द्रा छन्त्यालको जोडी २१–१७ र २१–१५ को सेटमा पराजित भएका छन् ।

ए लेभलतर्फ बुटवलका राजु थापा र विनोद पौडेल तथा काठमाडौका दिपक राना र सोनाम खपाङ्गी सान्त्वना भएका छन् । बि लेभलतर्फ आयोज क्लबका गोविन्द श्रेष्ठ र सागर थापा तथा चितवनका राजु सापकोटा र विष्णु दवाडी सान्त्वना भए ।

उनीहरुलाई व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने तथा पुरस्कारको प्रायोजक व्यास दिव्यज्योती बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल सुरज सुब्बाले पुरस्कार प्रदान गरेका थिए ।

ए तथा बी लेभलतर्फ प्रथमले ३० हजार, दोश्रोले २० हजार तथा सान्त्वना हुनेले छ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
सि लेभलतर्फ प्रथमले १५ हजार, दोश्रोले १० हजार तथा सान्त्वना हुनेले चार हजार रुपैयाँ पुरस्कार पाएका छन् । महिलातर्फ भने प्रथमले १० हजार तथा दोश्रोले पाँच हजार रुपैयाँ पुरस्कार पाएका छन् । पुरस्कारका साथमा ट्रफी र मेडल समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष यज्ञबहादुर राना, व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटा उपस्थित थिए ।

उत्तरशिला चलचित्र मन्दिरको कभर्ड हलमा सञ्चालित प्रतियोगितामा उत्साहजनक उपस्थितीबाट उत्साही भएको अध्यक्ष गुरुङले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी