व्यास नगर कार्यपालिका निर्णयः वडा सीमाना हेरफेरको विषय नगर सभामा जाने

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाको वडा सिमाना हेरफेर प्रस्तावले आसन्न नगर सभामा प्रवेश पाउने भएको छ । माघ २७ गते हुने सभामा यससम्बन्धी प्रस्ताव पेस गर्ने निर्णय व्यास नगर कार्यपालिका बैठकले गरेको छ ।


आईतबार नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उप(प्रमुख मीरा जोशीको संयोजकत्वमा गठित अध्ययन समितिले पेश गरेको प्रतिवेदन नगर सर्वदलीय संयन्त्रमा छलफल गराई निष्कर्षसहित निर्णयका लागि आगामी नगरसभामा पेश गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


नगरपालिकामा व्यास १ निकै ठूलो भएकाले वडा विभाजन गर्ने विषय उठ्दै आएको छ । अन्य केही वडाका सीमाका विषयमा पनि बहस भएको थियो ।


मानुङको विकास सार्वजनिक निजी साझेदारीबाट
कार्यपालिका बैठकले नगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन, २०७७ ले गरेको व्यवस्था गरे बमोजिम पर्यटकीय गन्तव्यको रुपमा प्रचार प्रसार भइरहेको व्यास नगरपालिका वडा नं. ५ स्थित मानहुँकोटको पर्यटकीय प्रबर्द्धनका लागि नगर प्रमुख न्यौपानेको अध्यक्षतामा ७ (सात) सदस्यीय सार्वजनिक निजी साझेदारी (सानिसा) समिति गठन गरेको छ ।

यसैगरी, बैठकले नगरपालिकाको ३४ औं नगरसभामा पेश गर्ने गरी संशोधित नीति तथा कार्यक्रम, संशोधित आर्थिक ऐन, २०७७, संशोधित विनियोजन ऐन, २०७७ लगायत अन्य विभिन्न कानूनहरु सम्बन्धी विधेयक प्रस्तावहरु पारित गरेको विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्