
विकास खनाल
दमौलीः नेपाली कांग्रेसका सुभेच्छुक संगठनले दमौलीमा सरकारविरुद्ध विरोध प्रदर्शन तथा सभा गरेका छन् ।
दमौली अनशन चौतारीस्थित खुला मैदानमा भएको सभामा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सदाचार र सुशासनका लागि परिकल्पना गरेर स्थापना गरिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चोख्याउन प्रयोग गरिने आशंका गरेका छन् ।
जनतालाई न्याय दिलाउन र सुशासनका लागि नभै स्वार्थका लागि गलत मान्छे नियुक्त गरिएको आरोप लगाउँदै त्यसले देशलाई क्षतविक्षत बनाएको आरोप लगाए ।
प्रधानमन्त्रीले राष्टपतिले यो धारा अन्तर्गत भंग गरेको भनेर भन्न नसकेको भन्दै उनले अदालत माथि दबाब दिन थाल्दा नेपाली काङ्ग्रेसले टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकार गलत बाटोमा गैरहेकाले कांग्रेस खबरदारीमा उत्रिएको बताए ।
नेपाल ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष सुर्यचन्द्र हड्खलेको अध्यक्ष तामा भएको कार्यक्रममा संविधान सभासद झुलबहादुर आले, जिल्ला सदस्य मोहन गिरी, तरुण दलका कावा अध्यक्ष हिरा थापा, नेविसंघका अध्यक्ष चुडामणि खनाल, ट्रेड युनियनका केन्द्रीय सदस्य रमेशचन्द्र हड्खले र रसामाया गुरुङ, जिल्ला सदस्य मोहन गिरी, शिक्षक संघका अर्थ महासचिव पुष्पकला भट्टराई, शिक्षक संघका जिल्ला अध्यक्ष कमलभक्त पोख्रेल, प्रजातन्त्रवादी प्राध्यापक संघका जनक काफ्ले, डिएलएका जिल्ला अध्यक्ष केशव भट्टराईलगायतले बोलेका थिए ।