‘भीमबहादुरको समाजसेवाबाट समाजले सिक्नुपर्छ ‘

  • ख-
  • ख+

दमौली: गाउँ सेवा कोषका संस्थापक स्वर्गीय समाजसेवी भीमबहादुर अधिकारीले सामाजिक सेवामा पु¥याएको योगदानबाट समाजले सिक्नुपर्नेमा दमौलीमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले जोड दिएका छन् ।


अधिकारीको पहिलो वार्षिक पुण्यतिथिमा कोषले दमौलीमा गरेको स्मृति सभामा बोल्दै वक्ताहरुले व्यक्तिगत स्वार्थबाट माथि उठेर समाजको भलाइका लागि स्वर्गीय अधिकारीले गाउँ सेवा कोषमार्फत खेलेको भूमिका उदाहरणीय भएको बताए ।


कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ राजनीतिज्ञ मोतिकुमार श्रेष्ठले स्वर्गीय अधिकारीले लामो समय सामाजिक सेवामा योगदान दिएको बताए ।कार्यक्रममा बोल्दै संविधान सभासद रामचन्द्र पोखरेलले अधिकारीको समाजसेवा सबैका लागि उदाहरण भएको बताए । उनले पञ्चायतकालमा आफूहरु सामाजिक कामका लागि जाँदा प्रतिबन्धित अवस्थामा पनि अधिकारीले भेटेर सहयोग गरेको स्मरण गरे ।


जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अधिकारीको समाजसेवाका कारण धेरैले राहत पाएको स्मरण गरे । आफ्नै सम्पत्ति समेत धितो राखेर समेत सामूहिक ब्रतबन्ध, छात्रवृत्तिजस्ता कार्यमा अधिकारीको भूमिका रहेको भन्दै उनले अधिकारीलाई सबैले सम्झिरहने बताए ।


व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले अधिकारीले प्रतिभावान विद्यार्थीलाई छात्रवृत्तिमार्फत प्रोत्साहन तथा अपांगता भएकालाई सहयोग गरेको भन्दै व्यक्तिगत लाभलाई कहिल्यै पनि नसोचेर सेवा गरेको बताए । व्यास नगरपालिका समेत अधिकारीको मार्गमा लागेको उनले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले अधिकारीको योगदानबाट अरुले पनि पाठ सिक्नुपर्ने बताए ।


कोषका कार्यवाहक अध्यक्ष ताराप्रसाद श्रेष्ठले अधिकारीको निधनले देशले समाजसेवामा एक असल व्यक्ति गुमाएको भन्दै उनको बाटोमा काम गर्नु आफ्ना सामू चुनौति भए पनि प्रयास गरिरहेको बताए ।


कार्यक्रममा सहभागी कोषका लक्ष्मण थापा, सामाजिक अभियन्ता बाबुराम खनाललगायतले पनि अधिकारीको योगदानमाथि चर्चा गरेका थिए । गत वर्ष निधन भएका अधिकारीले नेपाल सरकारको सचिव रहेर लामो समय सेवा गरेका थिए ।

उनले २०३३ सालमा आफ्नै जमिन भोग बन्धक दिएर सोही रकमबाट सामाजिक सेवा आरम्भ गरेका थिए । उनले ६८ वर्ष समाजिक तथा राष्ट्रसेवामा योगदान दिएको गाउँ सेवा कोषका सचिव तुलसीशरण सिग्देलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी