के हुँदैछ तनहुँ जलविद्युत आयोजनामा ?(भिडियोसहित)

  • ख-
  • ख+

पवन पौडेल
दमौलीः
तनहुँको ऋषिङ १ झापुटारमा निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको कामले गति लिन थालेको छ । देशलाई उर्जा संकटबाट अन्त्य गर्ने महत्वाकांक्षा राखेर थालिएको आयोजनाको काम कहिले ठेकेदार विवाद त कहिले छनौटमा ढिलाई आदिका कारण सुस्त थियो । तर अब भने कामको गति बढ्न थालेकाले आशा जगाएको छ ।
देशकै दोश्रो ठूलो जलाशययुक्त एक सय ४० मेगावाट क्षमताको जलविद्युत आयोजना निकै सुस्त गतिमा अघि बढिरहेको थियो ।

विद्युतगृहको सुरुङको कामको गति बढ्दै
तर केही समययता भने आयोजनाको कामले गति पाएको छ । कोभिडको लकडाउनमा पनि निरन्तर काम गरिरहेको आयोजनाको विद्युतगृहको काम चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले अघि बढाइरहेको छ । अहिले चिनियाँ ठेकेदारले विद्युतगृह जाने सुरुङ, मार्गको बाटोसँगै सुरुङभित्र संरचनाका लागि पनि काम अघि बढाइरहेको छ ।

सुरुङ र जाने मार्गको काम भैरहेको छ, आयोजना प्रमुख अच्युतबाबु घिमिरेले भने । अर्का इञ्जिनियर विदुर अधिकारीले ठेकेदार कम्पनीले पर्याप्त कर्मचारी राखेर काम अघि बढाइरहेको बताए ।

प्रसारण लाइनको मुआब्जा बाँड्ने तयारी
आयोजनाको विद्युतगृहको कामसँगै प्रसारण लाइनको काम पनि अहिले चलिरहेको छ । आयोजनाबाट उत्पादित विद्युत भरतपुरस्थित राष्ट्रिय ग्रीडमा जोड्ने गरी ३४ किलोमिटर दुरीको प्रसारण लाइनको वातावरणीय अध्ययन सकिएको छ ।

अहिले जग्गाको मुआब्जा दिने प्रक्रिया पनि अघि बढ्दैछ । यसले भावी दिनमा आयोजना सम्पन्न हुनु अघि नै उत्पादित विद्युतका लागि संरचना तयार पार्नेछ ।


आयोजना अघि नै प्रसारण लाइन तयार हुने गरी काम गरिरहेका छौं, आयोजना प्रमुख घिमिरेले भने, मुआब्जा वितरण भए पछि निर्माणको काम थालिनेछ ।
देशमा उर्जा संकटका बेला विकल्प खोज्ने क्रममा अघि बढाउन खोजिए पनि दातृ निकायको प्रतिवद्धता, ठेकेदार छनौटमा ढिलाई तथा छानिएका ठेकेदारको सम्झौता तोडिएका कारण आयोजनाको काम निर्धारित समयमा हुन सकेन ।

मेलम्ची खानेपानीको समेत काम गरेको इटालेली कम्पनी सीएमसीसँगको ठेक्का तोडिए पछि अझै पनि बाँधस्थलको नयाँ ठेकेदारले काम थालि नसक्दा आयोजनाको लागतमा भने वृद्धि हुने आशंका गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी