लकडाउनमा फसेर पिताको काजक्रिया गर्न नपाएपछि बालबालिकालाई सहयोग

  • ख-
  • ख+

भानुः पिताको निधनमा काजक्रियाका लागि घर आउन नपाए पछि वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियाको दमाममा रहेका भानुका लक्ष्मण सापकोटाले पिताको स्मृतिमा ६० जना बालबालिकालाई सहयोग गरेका छन् ।


केही वर्षयता साउदीमा रहेका लक्ष्मणका पिता उदयको केही समयअघि निधन भएको थियो । तर लकडाउनका कारण उनी अन्तिम संस्कारमा आउन सकेनन् । हिन्दु धार्मिक संस्कारमा छोरा आउनै पर्ने भए पनि लकडाउनका कारण उनका भाईले पिताको अन्तिम संस्कार गरे ।


आफू धार्मिक संस्कारमा आउन नसके पनि पुण्य हुने ठानेर बालबालिकालाई सहयोग गरेको लक्ष्मणले बताए । उनले ४६ औं वार्षिकोत्सवको अवसर पारी भानु १० दुधेकुनाको सरस्वती आधारभूत विद्यालयका ६० स्कुले बालबालिकाहरुलाई जाडोको न्यानो कपडा स्वरुप सुइटर प्रदान गरेका हुन् ।


पत्नी सरला सुबेदी सापकोटा, आमा मैयाँ र दिदी गीतामार्फत बालबालिकाहरुलाई सहयोग हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समुन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार झण्डै ५० हजार बराबरको सहयोग लक्ष्मणले गरेका छन् ।


आफूले यसअघि पनि यस्तै प्रकारको आफुले सकेको सहयोग सामाजिक कार्यमा गर्ने गरेको उनले बताए । हरेक समाजिक काममा अगाडि बढ्ने प्रेरणा आफ्नो पिताबाट पाएको भन्दै उनले पिताले देखाएको मार्गदर्शनमा हिंड्न पनि यसले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी