देवघाटः देवघाटका ९८ वर्षका अगमप्रसाद लामिछानेले कोभिडविरुद्धको खोप लगाएका छन् । शारिरिक रुपमा तन्दुरुस्त देखिने उनले सहयोगीको साथमा पुगेर खोप लगाएका हुन् । उनमा शारिरिक समस्या नदेखिएको वृद्धाश्रमले जनाएको छ ।
देवघाटस्थित समाजकल्याण केन्द्र वृद्धाश्रममा बस्दै आएका उनीसँगै अरु वृद्धवृद्धा र कर्मचारी गरी ७४ जनाले यस्तो खोप लगाए । प्रारम्भिक रुपमा कसैलाई पनि खोप लगाए पछि देखिने समस्याबारे जानकारी नआएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
खोप लगाउन स्वास्थ्य कार्यालयले खटाएका अधिकारी वीरेन्द्रबाबु चौधरीले वृद्धवृद्धामध्ये कसैलाई पनि कुनै स्वास्थ्य समस्या नआएको बताए । ‘हामीले आधा घण्टा बढी सँगै बितायौं,’ उनले भने,‘कसैलाई केही समस्या देखिएन ।’ वृद्धवृद्धाले आफूहरुलाई आएकोमा आशिष समेत दिएको उनले बताए ।