आइसोलेसनका संक्रमित भन्छन्, ‘खानामा तरकारी पुगेन’

  • ख-
  • ख+

भदौ १६, दमौली
दमौली अस्पतालले व्यवस्थापन गरेको किरियापुत्री भवनको आईसोलेसनका संक्रमितले खाना पर्याप्त नपुगेको गुनासो गरेका छन् । एक संक्रमितले सामाजिक सञ्जालमा खानाको तस्बिरसहित पोष्ट गरे पछि उनको पोष्ट भाईरल भएको छ ।


गत भाद्र ११ गते संक्रमण देखिएपछि आइसोलेसन गएका उनले आएदेखि नै खाना नपुगेको गुनासो गरे । ‘आएदेखि नै खाना पुगेको थिएन,’ उनले भने,‘अहिले खाना पुगे पनि तरकारी नै हुँदैन ।’

एक संक्रमितले सामाजिक सञ्जालमा राखेको खानाको तस्बिर


आफूहरु बिरामी भएर आएको भन्दै उनले पर्याप्त खाना नपाउँदा समस्या थपिने बताए । ‘बिरामीलाई पुग्ने तरकारी दिनुस् भनेर भने पनि सधैं उस्तै भयो,’ उनले भने, ‘धेरै पटक गुनासो गरे पनि सुनुवाई नभए पछि फेसबुकमा पोष्ट गरेको हुँ ।’ उनले आफूसहित सबै संक्रमितको समस्या उही भएको दाबी गरे ।

होटलले पर्याप्त नदिए विकल्प खोज्छौंः अस्पताल
दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले ऋषिङ होटलसँग खाना उपलब्ध गराउने सम्झौता गरेको भन्दै उसले पेटभर खाना दिनुपर्ने बताए । ‘उनीहरुले पुग्ने खाना दिनुपर्ने हो,’ उनले भने ।

आफूले पहिले खाना नपुगेको गुनासो सुनेपछि होटललाई भनेको भन्दै तर अहिले फेरि गुनासो आएको बताए । ‘होटलले पैसा लिए पछि पुग्ने दिनुपर्छ,’ उनले भने,‘नसक्ने भए हामी विकल्प खोज्छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी