एक करोड लगानीमा सहकारीको ‘एसियन मार्ट’ शुरु

  • ख-
  • ख+

दमौलीः एसियन उपभोक्ता सहकारी संस्थाले दमौलीमा एसियन मार्ट सञ्चालनमा ल्याएको छ । दमौली मुख्य पृथ्वी राजमार्गको छेवैमा सञ्चालित मार्टले दैनिक उपभोग्यका सामान बिक्री सुरुवात गरेको हो ।


झण्डै एक करोड रुपैयाँको लागतमा दमौलीस्थित ट्राफिक चोक नजिकै सञ्चालनमा आएको मार्टको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे । उनले एकै ठाउँमा फेला पर्ने गरी गरिएको व्यवस्थापन राम्रो भएको भन्दै सराहना गरे ।

सहकारीहरु शुरुवात गर्नु राम्रो भए पनि जोगाउनु चुनौती रहेको भन्दै उहाँले सफलताको कामना गरे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले सुपथ मूल्यमा सामान बिक्री गरेर सहकारीले अति राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।


साविक ओम सपिङ सेन्टर रहेको ठाउँमा सञ्चालित मार्टमा दैनिक उपभोग्य सामान बिक्रीका लागि राखिनेछ । स्थानीय किसानका उत्पादन र अन्नबाली पनि बिक्री वितरण गर्ने लक्ष्य राखिएको सहकारी सञ्चालक समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।


मार्टले सुपथ मूल्यमा सामान बिक्री गरिने जनाएको छ । शेयर सदस्यका लागि विशेष छुटका साथ सामान बिक्री गरिने र अरुका लागि पनि सुपथ मूल्यमा सामान बिक्री गरिने मार्टले जनाएको छ । दमौलीमा सहकारीले नै व्यवस्थापन गरेको यो नै एक मात्र दैनिक उपभोग्य पसल हो । यस अघि सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी