मेयर साब ! यसो गरौं

  • ख-
  • ख+

सन्देश आचार्य
म एक नगरबासीका हिसाबले म तपाईं लगायत भानु नगरपालिकाको ध्यानाकर्षण यसरी गर्न चाहन्छु । विश्वलाई आक्रान्त पारेको कोरोना भाईरसले अब भानु नगरपालिकालाई पनि अछुतो राखेन । हाल गण्डकी प्रदेश तनहुँको भानुमा कोरोना संक्रमणको दर उच्च रहेको दैनिक प्राप्त स्वास्थ्य तथ्याङ्कहरूले बोलिरहेकै छन् ।

हुन त भानु नगरपालिकाले विगत देखि सावधानीका उपाय अपनाउँदै निषेधाज्ञा र सामान्य हिंडडुलमा प्रतिबन्ध लगाएको हो । तर केही नितिगत कमजोरीहरूले गर्दा भानु नगर क्षेत्र कोरोनाको कहरमा चिप्लिरहेको छ । बन्दाबन्दी कै अवस्था, आर्थिक मसान्तमा विकास निर्माणका कार्य सुचारू गराउँदा निर्माण व्यवसायीबाट स्थानीयस्तरमा फैलिएको कोरोनाले अहिले दिनप्रतिदिन नयाँ तथ्याङ्कको निर्माण गर्दैछ ।

विगतमा जनमानसमा पनि कोरोनाको प्रभाव सामान्य रूपमा रहेको पाइयो, न्यून सतर्कता र हेयको दृष्टिले गर्दा अहिले जुन महामारीको रूप लिइरहेको छ । यसले स्थानीयको मथिंगल कम्पन गराएको छ । उनीहरूमा कोरोनाको प्रचुर मानसिक असर पाइन्छ । संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण, अपनाउनु पर्ने सावधानी, दर्शाउनु पर्ने सद्भाव र दिनुपर्ने सकारात्मक उत्प्रेरणाको कमी प्रशस्त भेटिन्छ ।


स्थानीय सरकार नागरिकको संरक्षक र अभिभावक रहेको हुँदा उसले आफ्नो क्षेत्राधिकार भित्र रहने र बस्ने सम्पुर्ण नागरिकको अभिभावकत्व ग्रहण गर्दै जिम्मेवार बन्न जरूरी हुन्छ । यसैक्रममा आफ्नो क्षेत्र भित्र रहेका टोल विकास संस्थाका माध्यमद्वारा जनचेतना जगाउने सम्बन्धी कार्य गर्नु गराउनु आवश्यक छ । स्थानीय तहबीच समन्वयात्मक कमजोरी पनि देखिन्छ । जसले गर्दा पनि एक आपसमा सीमा जोडिएका तहहरूमा यस्ता विकराल समस्याहरू सहज रूपमा प्रवाह हुन्छन् ।

????????????????????????????????????

यसबारे सबै स्थानीय निकायको ध्यान जानू उचित देखिन्छ । अहिलेको प्रतिकुल अवस्थामा नगरपालिकाले निम्न बुँदामा ध्यान दिएर नीति र कार्यक्रम ल्याएमा नगरवासीले राहत पाउने र कोरोनाविरुद्धको लडाइंमा विजय प्राप्त गर्ने आशा गरेको छु ।

विपन्नलाई राहत प्याकेज
स्थानीय तहहरूले यस्ता महामारीको अवस्थामा विकास निर्माणमा विनियोजित रकमहरू डाईभर्ट गरि महामारी नियन्त्रणमा लगाउन ढिलाई गर्नु हुँदैन । निकायले कम्तिमा विपन्न, व्यवसायी र ज्याला मजदुरी गरेर खानेहरूको तथ्यांक संकलन गरि उनीहरूका लागि सहयोग प्याकेजको निर्माण गर्नुपर्छ र वितरण गर्नुपर्छ । यस्ता प्याकेजहरू राजनैतिक संरक्षणका मापदण्डले होइन साँच्चैको पीडितले पाउनुपर्छ । बन्दाबन्दीको पुर्ण रूपमा पालना गर्ने गराउने सम्बन्धमा माथि उल्लेखित केही बुँदाहरूले प्रत्यक्ष प्रभाव पारिरहेको पाइन्छ ।


हिंडडुलमा साँच्चिकै कडाइ
बन्दाबन्दी अवधिभर पहुँचका आधारमा अनावश्यक रूपमा जो कसैलाई हिंडडुलमा प्रतिबन्ध लगाउनुपर्छ । यस्ता हिंडडुलले पनि संक्रमण व्यक्तिबाट घर र घरबाट समाजमा फैलिरहेकोप्रति सबैको ध्यानाकर्षण हुनु अत्यावश्यक छ । समस्या जनस्वास्थ्यसँग प्रत्यक्ष संबन्धित भएका कारण स्थानीय निकाय अन्तर्गतका जनस्वास्थ्य शाखाले आफ्नो निकाय भित्रका लागि अत्यावश्यक (मास्क, सेनिटाईजर र केही औषधिहरू )स्वास्थ्य सामग्रीहरू सशुल्क उपलब्ध गराउनु पर्छ ।


खाद्यान्न होम डेलिभरीमा सहजिकरण
खाद्यान्न संकट नियन्त्रणका लागि आफ्नो क्षेत्रभित्रका टोलरटोलका केही किराना पसलहरूलाई अधिकार हस्तान्तरण गरि होम डेलिभरीको व्यवस्था मिलाउनुपर्छ । अत्यावश्यकीय सामग्रीहरूको उपलब्धताले मानिसहरू घर बाहिर हिंडडुल गर्ने दरमा कमी आउँछ । स्थानीय सरकारले प्रशासन सँग समन्वय गरेर प्रभावकारी नियमन वा सुरक्षा गस्तीलाई प्राथमिकता दिनु पर्छ ।


अन्त्यमा,
अब पनि स्थानीय सरकार कोरोना नियन्त्रणमा प्रभावकारी बन्न नसके त्यो नागरिक मतको अवमूल्यन र गैरजिम्मेवारीपन देखिनेछ । तसर्थ बेलैमा सोचौं ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी