
काठमाडौंः बेलायतमा देखिएको कोरोना भाईरसको नयाँ प्रकार नेपालमा समेत भित्रिएको पुष्टि भएसँगै यसले थप जोखिम निम्त्याएको विज्ञहरुले बताएका छन् ।
चाँडो फैलने प्रकारको यस्तो संक्रमण बेलायतबाट फर्केका तीन जनामा भेटिएको हङकङको एक प्रयोगशालाले पुष्टि गरेसँगै थप सतकर्ता अपनाउनुपर्ने देखिएको छ ।
नयाँ प्रजातिको कोरोना भाइरसको उद्गमस्थल बेलायतबाट केही दिन अगाडि ६ जना नेपाल आएकामा कोरोना पोजिटिभ भेटिएका तीन जनाको नमूना थप परीक्षणका लागि हङकङको प्रयोगशालामा पठाइएकामा नयाँ रिपोर्टमा बेलायतकै जस्तो प्रजाति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ति
६७ र ३२ वर्षका २ जना पुरुष र २८ वर्षीया १ जना महिलामा यस्तो संक्रमण देखिए पछि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै थप सचेत हुन आग्रह गरेको छ । प्रवक्ता डा. जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा नेपालमा भ्याक्सिन नआउँदासम्म सावधानी अपनाउन अनुरोध गरिएको छ ।
यस अघि मन्त्रालयले जारी गरेको निर्देशनअनुसार नै भीडभाडमा नजान र मास्क लगायन तथा दुई साबुनपानी वा स्यानिटाइजरले हात धुन अनुरोध गरिएको छ ।