कलेस्तीमा पाठेघर परीक्षण शिविरः डेढ सय बढी महिलाको निःशुल्क उपचार

  • ख-
  • ख+

प्रकृति खनाल न्यौपाने

दमौलीः व्यास नगरपालिका वडा न ७ कलेस्तीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रसुति रोग विशेषज्ञ डा सिर्जना शर्माको नेतृत्वको टोलीले उपचारमा खटेको थियो ।

टिममा नर्सिङ अधिकृत राधिका रेग्मी, अस्पताल नर्सिङ निरिक्षक पुष्पा महर्जन लगायत पाँच जनाको टिम र व्यास नगरपालिकाका स्वास्थ्य कर्मचारीको सहभागीता रहेको थियो ।
शिविरमा लगभग डेढ सय बढीको सहभागीता रहेको जनस्वास्थ्य अधिकृत प्रमोद सोतीले जानकारी दिए ।


शिविरमा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर न्युनीकरणका लागि निः शुल्क स्वास्थ शिविर सम्पन्न भएको हो । नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले सेवाग्राही मध्ये सबैभन्दा बृद्व महिला सेतीमाया केसीलाई बिरामी उपचार पूर्जी दिएर शिविरको उद्घाटन गरेका थिए ।


पाठेघरको मुखको क्यान्सर बारे सचेत हुदै वेलैमा उपचार गराउन यस्ता शिविरहरूले प्रभावकारी हुने भन्दै नगरपालिकाले विगतका बर्षहरू देखि नै पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क शिविरहरू गर्दै आएको बताए । ‘अति संवेदनशील अवस्थाका महिलाको नगरपालिकाले नै उपचार गराउँछ,’ उनले भने ।


शिविरमा नगरपालिकाकी उपप्रमुख मिरा जोशीले महिलाहरू उपचार गर्न समेत लजाउने,आफ्नो समस्या भन्न पुरूष चिकित्सक सँग डराउने भएकाले महिला प्रसुति रोग विशेषज्ञको नै व्यवस्था गरिएको जानकारी दिइन् ।


शिविरमा अतिथिहरू तथा सेवाग्राहीहरूलाई स्वागत गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले धेरै अनुभवी तथा प्राज्ञ विशेषज्ञको टोली आएकोले खुसी व्यक्त गर्दै विकास भनेको शिक्षा र स्वास्थ्य को सूचक सहित यिनीहरूलाई प्रभावकारी कार्यान्वयन गर्नु भएकाले स्वास्थ्य त्यसमा पनि चुनौतिपूर्ण अवस्थामा रहेको महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरका वारेमा शिविर सञ्चालन गर्न व्यास नगरपालिका सफल भएको धारणा राखे ।


शिविर उद्घाटन कार्यक्रमको अध्यक्षता गर्दै व्यास नगरपालिकाका वडा न ७का वडाअध्यक्ष सतिशचन्द्र न्यौपानेले यस्ता शिविरहरूले ग्रामिण भेगका महिलाहरूको समस्या समेत सम्वोधन गर्ने धारणा राखे ।
शिविरमा कलेस्ती उपत्यका, पाथ्रा, चिन्टुटार, गजौंडेलगायत विभिन्न स्थानका सेवाग्राहीहरूको उपस्थिती थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी