
काठमाडौंः नेपालमा कोभिडविरुद्धको भारतीय खोप प्रयोगको बाटो खुलेको छ । सरकारले भारतसँग खोप भित्र्याउनका लागि कुरा गरिरहेको बताइरहेका बेला औषधी व्यवस्था विभागले अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको भारतीय कम्पनी सेरम इन्स्टिच्युटको उत्पादन ‘कोभिसिल्ड’लाई आपतकालिन प्रयोगको अनुमति शुक्रबार दिएको हो ।
यसले परीक्षण सफल भएमा यही खोप नेपालमा प्रयोग हुने बाटो खुला गरेको छ । भारतले आफ्नो देशमा यही खोपको आपतकालीन प्रयोग शुरु गरिसकेको छ ।

छिमेकी देशमा पनि उपलब्ध गराउने भारतको नीति रहेको त्यहाँका अधिकारीहरुले बताइरहेका बेला नेपालमा पनि यस खोपको परीक्षणका लागि विभागले दिएको अनुमतिलाई महत्वपूर्ण रुपमा लिइएको छ ।