नगरवासीको हितमा चालिएको कदम कसरी गलतः प्रमुख न्यौपाने
दमौलीः व्यास नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । व्यास नगरपालिकाको आयोजना तथा महिला शसक्तिकरण सञ्चार समाजको सहजीकरणमा नगरपालिका प्रांगणमा गरिएको कार्यक्रममा नगरवासीले सेवा प्रवाहका विषयमा विविध जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नगरवासीहरूले मादी नदी माथिको दोहन, पुलको संरक्षण, काममा ढिलासुस्ती , फोहोरमैलाको व्यवस्थापन, पहुँचका आधारमा काम तथा विकास निर्माणलगायतका विषय उठाए । यसैगरी, सहकारीको अनियमितता, डाङ्ग्रेखोल्सी हराएको विषय, अव्यवस्थित नाङ्गो तार लगायतका विषयमा प्रश्न गरेका थिए ।

सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिका भित्र छिटोछरितो सेवासुविधा दिन नगरपालिका प्रतिवद्ध रहेको बताए ।
उनले मादी नदीको दोहन सम्बन्धमा उठेको प्रश्नको जवाफ दिँदै व्यक्तिको कृयाकलाप बन्द गराइ नगरबासीको हितमा अगाडि बढाइएको काम कसरी अनुपयुक्त हुन्छ भन्दै प्रतिप्रश्न गरे ।
नगर भित्रको सार्वजनिक जग्गा सुरक्षा गर्न नगरपालिकाले प्रत्येक वडा देखि नै काम अगाडि बढाउँदै गएको न्यौपानेले जिकिर गरे ।
कृषि , शिक्षा लगायतका अन्य बिषयमा नगरबासीले चासो राखेका थिए । कार्यक्रममा आ–आफ्नो शाखाको चौमासिक विवरण नगरवासीसमक्ष सम्बन्धित क्षेत्रका प्रमुखहरूले राखेका थिए । कार्यक्रममा सहजिकरण सञ्चारिका समुहकी अध्यक्ष प्रकृति खनाल तथा सचिव अञ्जु दाहालले शुरुवात गरेका थिए ।













