
दमौलीः तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । व्यास १० तालघरेस्थित सहकारीको भवनमा आयोजित साधारण सभाको व्यास नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले संघले गरेको काम कृषकउन्मुख भन्दै सन्तोषजनक रहेको बताए । उनले कोभिडको संकटका समयमा पनि मिल्क होलिडे नगरीकन किसानलाई राहत दिएको भन्दै संघको प्रशंसा गरे ।
विशिष्ट अतिथि व्यास १० का वडाध्यक्ष तुलसीराम सापकोटाले संघले किसानको हितमा काम गर्दै आएको भन्दै आवश्यक सघाउन तयार रहेको प्रतिवद्धता जनाए ।
विशिष्ट अतिथि केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमरबहादुर कुँवरले कोभिडका बेला किसान धराशायी भएका बेला पनि संघले किसानलाई पीडा पर्न नदिन मिल्क होलिडे रोक्नुलाई सफलताका रुपमा लिए । उनले संघले किसानलाई अधिक फाइदा दिने हिसाबले उद्योग सञ्चालन गरेको भन्दै उत्पादनमा आवश्यक सहुलियत दिनुपर्ने माग गरे ।
संघका अध्यक्ष यज्ञप्रसाद शर्माले वार्षिक कार्यक्रम प्रस्तुत गर्दै दुग्ध उत्पादन उद्योगमार्फत किसानलाई अधिक लाभ दिन निरन्तर प्रयासरत रहेको बताए ।
व्यास ११ का अध्यक्ष निरबहादुर खड्का समेत विशिष्ट अतिथि रहेको कार्यक्रममा संघका उपाध्यक्ष प्रेमप्रसाद पौडेल, व्यवस्थापक राजु भुजेललगायतले संघका विविध विषयमा बोलेका थिए ।
लेखा संयोजक बलराम भट्टराईले कार्यक्रमा लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।