दमौलीमा ओली समूहको कार्यकर्ता भेलामा कसले के भने ?

  • ख-
  • ख+

दमौली: दाहाल–नेपाल समूहले लगातार सरकार र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध क्रियाकलाप गरे पछि ओली समूहले पनि आफ्ना नेता कार्यकर्तालाई गोलबन्द गर्न जिल्लाभरका कार्यकर्ता भेला पारेको हो ।


कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, पृथ्वीशुब्बा गुरुङ, किरण गुरुङसहितका नेताहरुले सम्बोधन गरे ।


हामी मिले पछि हुन्छ भनेर जताततै उज्यालो देख्नुभयो: रायमाझी
कार्यक्रममा बोल्दै उर्जा मन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले कुनै पनि हालतमा प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउन नसकेपछि पार्टी विभाजन गरेर पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व लिन खोजेको आरोप लगाए ।


केपी शर्मा ओली नेतृत्वको नेकपाले दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरु दुई जना मिले पछि बहुमत पुग्छ भन्ने सोचेर पुष्पकमल दाहाल र माधवकुमार नेपाल लागे पनि त्यो सम्भव नदेखेपछि पार्टी विभाजनतर्फ लागेको आरोप लगाए ।

‘हामी मिले पछि हुन्छ भनेर जताततै उज्यालो देख्नुभयो,’ उनले भने,‘तर कसै गरी अविश्वासको प्रस्तावका लागि ८६ मत नुग्ने देखेपछि जर्बजस्त समीकरण बनाउने अभियानमा लाग्नुभयो ।’

ओलीको राष्ट्रवादी छविसँग डराएर विभाजन
नेता रायमाझीले आफूहरु जुनसुकै अवस्थामा पनि पार्टी विभाजनबाट रोक्न खोजे पनि नसकेपछि ओलीलाई साथ दिएको जिकिर गरे । ‘ओलीको राष्ट्रवादी छविसँग डराएर परिवर्तन गर्ने षडयन्त्र भयो,’ उनले भने,‘विनाकारण उहाँ (ओली)लाई दुवै पदबाट हटाउन खोजे पछि पार्टी जोगाउन लागेका हौं ।’


रायमाझीले पार्टी फुटबाट जोगाउन नसकेपछि ओलीले लिएका अडानका कारण उनैलाई साथ दिएको बताए ।

हामीले सूर्य पायौं ढुक्क हुनुस्ः पृथ्वीशुब्बा गुरुङ
कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश ईञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले जसले नेतृत्व गरेको छ उसैलाई चुनाव चिह्न र पार्टीको मान्यता दिने राजनैतिक इतिहास रहेको भन्दै सूर्य चुनाव चिह्न आफ्नै दलले पाउने दाबी गरे । ‘सूर्य चिह्न हामीले नै पाउँछौं,’ उनले भने,‘ढुक्क हुनुस् ।’

संविधानमा सबै कुरा लेखेको हुन्नः किरण गुरुङ
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले संविधानमा सबै कुरा नलेखिने भन्दै संसद विघटन गर्न प्रधानमन्त्रीले पाउने दाबी गरे । ‘यसलाई अदालतले सदर गर्न पनि सक्छ नगर्न पनि सक्छ,’ उनले भने,‘तर प्रधानमन्त्रीले संसद विघटन गरेका नजिर विगतमा पनि छ ।’

चुनाव गर्छु भन्नु कुनै कु नहुने भन्दै उनले जनता नै सर्वेसर्वा भएकाले उनीहरुले नै फैसला गर्ने बताए । तर चुनाव हुन नदिन षडयन्त्र भएको उनले दाबी गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी