तनहुँमा ओली र दाहाल नेपाल गुटमा कुन बलियो ?

  • ख-
  • ख+

दमौली: साविक देखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको पकड देखिदै आएको तनहुँमा पार्टीको विभाजन घोषणा हुन मात्र बाँकी रहँदा कुन गुट बलियो भन्ने प्रतिष्पर्धा देखिएको छ ।

मंगलबार दाहाल पक्षले देशैभर आयोजना गरेको विरोध सभाका क्रममा तनहुँमा दाहाल- नेपाल पक्षले आफूलाई सक्दो बलियो देखाउने भरमग्दुर प्रयास गर्यो।

जिल्लाका विभिन्न भागबाट बाक्लै संख्यामा मोटरसाईकल र्याली उतारेर नेतृत्वले आफ्ना पक्षमा कार्यकर्ता संख्या बलियो रहेको सन्देश दिने प्रयास गर्यो ।

कालो व्यानरमा ओली नेतृत्वकाे विरोधमा प्रदर्शनमा उत्रिएका नेताहरुले दमौली खुला पार्कमा सभा गरेका थिए ।जिल्ला सेक्रेटरी राजेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा भएको सभामा गण्डकी अञ्चल सचिवालय सदस्य हेमराज लामिछाने र रेखा थापा बस्याल, अञ्चल कमिटी सदस्य शंकरनारायण श्रेष्ठ, मदन आले, विष्णुभक्त सिग्देल, विघटित प्रतिनिधि सभा सदस्य कलिला खान, व्यास नगर कमिटी अध्यक्ष श्रीराम कार्कीलगायतले सम्बोधन गरेका थिए ।

विजयी सांसदले मतको अपमान गरे: श्रेष्ठ

झण्डैएक घण्टा लामो सम्बोधन गरेका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले विजयी सांसदहरूले कार्यकर्ताको अपमान गरेर प्रतिगमनका लागि सघाएको आरोप लगाए । उनले तनहुँमा पार्टी एक भएकाले मात्र छ वटा सिट जितेको दावी गरे ।

कार्यक्रममा दाहाल नेपाल खेमामा रहेका भ्रातृ संगठन युवा संघका अध्यक्ष ईश्वर बस्याल, अनेरास्ववियुका डम्बर विक,मुक्ति समाजका रनसिंह नेपालीले पनि बोलेका थिए । कार्यक्रममा आफ्नो गुटमा रहेका प्रदेश तथा जिल्लास्तरीय नेताको बाक्लो उपस्थिति देखाउने प्रयत्न नेतृत्वले गरेको थियो । केन्द्रीय लेखा आयोग सदस्य विद्या ढकाल, प्रदेश सदस्य ओमकुमारी पौडेल, अतिन्द्रकेशरी न्यौपाने लगायत पनि कार्यक्रममा उपस्थित थिए ।

बलियो देखाउने आ आफ्नै दाउ

साविकमा ओली गुट बलियो भए पनि नेकपा र एमाले एकीकृत बने पछि देखिएको परिवर्तित ओली तथा दाहाल नेपालको समीकरण दुवैले आफू बलियो रहेको देखाउन आन्तरिक तथा बाहिरी रुपमा नै प्रतिष्पर्धा गरिरहेका देखिन्छन् ।

साविक माओवादीको साथ पाए पछि पहिले कमजोर देखिएको नेपाल गुट हौसिएको छ भने नेताहरु जे जता भए पनि कार्यकर्ता पंक्ति आफूसँग रहेको दावी ओली पक्षको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी