कोरोनाबाट पुससम्म नेपालमा ५० हजारको ज्यान जाने आँकलनबारे के भन्छन् डा. पाण्डे

  • ख-
  • ख+

काठमाडौं, १३ भदौ । अक्सफोर्ड विश्वविद्यालयले नेपालमा पुसको मध्यसम्म कोरोनाबाट ५० हजार नेपालीको ज्यान जानसक्ने भनी गरेको आँकलनलाई जनस्वास्थविद् डा. रविन्द्र पाण्डेले चुनौती दिएका छन् ।

अक्सफोर्डको पोलिसी म्यानेजमेन्टले गरेको अनुमानले आम जनमानसमामा त्रास उत्पन्न भएको भन्दै डा. पाण्डेले त्यो आँकलन गलत भएको दाबी गरेका हुन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘एउटा अध्येताको नाताले म दाबी गर्दछु कि त्यो अनुमान १०० प्रतिशत गलत हो । उक्त अध्ययनमा प्रकाशित संक्रमित एवं मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन ।’ अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमानमा यो बर्ष अर्थात डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जना नेपालीको कोभिड–१९ को कारण मृत्यु हुन्छ भन्ने उनीहरुको निष्कर्षले आम जनमानसमामा त्रास उत्पन्न गरेको भन्दै उनले थप लेखेका छन्, ‘जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्च विन्दुमा पुग्ने लगायत कुनै पनि तथ्यांक सही छैनन् ।’

डा. पाण्डेले भनेका छन्, ‘महामारीको समय यी र यस्ता अनेकौं हल्ला र भ्रम आइरहेका छन् । कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्नुहुन म बिनम्र अनुरोध गर्दछु ।’

यसअघि अक्सफोर्ड विश्वविद्यालयले नेपालको सन्दर्भमा कोरोना भाइरसको संक्रमण कति धेरै हुन सक्छ र त्यसबाट कति मानिसको मृत्यु हुन सक्छ भनेर प्रक्षेपण गरेको थियो । प्रक्षपण अनुसार आउँदो पुस मध्य (सन् २०२० को अन्त्य) सम्ममा नेपालमा कोरोना भाइरसको संक्रमणबाट करीब ५० हजार मानिसको मृत्यु हुन सक्ने आँकलन विश्वविद्यालयले गरेको छ ।

बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभागले उक्त प्रक्षेपण अनुसन्धानकर्ताहरुले अघि सारेको खोजपत्रको आधारमा गरेको हो । विश्वविद्यालयका अनुसन्धानकर्ता प्रोफेसर लिसा ह्वाइट, डा. निकोलस लेक्फोर्ड, डा. सुनिल पोखरेल, डा. दिप्ती लता र डा. राशिद जमानले गरेको उक्त अनुसन्धान प्रतिवेदन बेलायतको सरकारी वेबसाइटमा प्रकाशित भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी