
दमौलीः घोषणा भै नसके पछि नेकपा पार्टी विभाजनतर्फ अघि बढिरहँदा नेकपा तनहुँको पार्टी कार्यालय कसको पक्षमा जाला भन्ने कुरा अहिले चर्चा र छलफलको विषय बन्न पुगेको छ । साविक नेकपा एमाले र नेकपा माओवादीबीच एकिकरण भए पछि साविक एमालेको कार्यालय नै एकिकृत पार्टीको कार्यालय बनेको थियो ।
तर पार्टीका दुई अध्यक्ष दुईतर्फ लागे पछि अब को आधिकारिक हुने भन्ने विषय अन्यौलमा छ । तर दुवै पक्षले एक अर्कालाई आधिकारिक मानिरहँदा दुई दिन अघि प्रधानमन्त्रीद्वारा प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन र तयारीका लागि छलफल गर्न पार्टी कार्यालय उपयोग गरियो । सोही कार्यालयबाट प्रचण्ड नेपाल पक्षले जुलुश निकाले पछि भोलिपल्ट ओली पक्षका नेताहरुले पनि कार्यालयमा चहलपहल बाक्लो बनाए ।
त्यसको भोलिपल्टबाट ओलीपक्षीय नेता कार्यकर्ताको चहलपहल कार्यालयमा बाक्लो हुन थालेको छ । केही जिल्लाहरुमा ओलीपक्षीय कार्यकर्ताले कार्यालयमा तालाबन्दी गर्न थालेका छन् । काभ्रे, सिन्धुली र छिमेकको लमजुङमा पनि ताला लागेका छन् ।
हाम्रै कार्यालय हो ताला लाग्दैनः ढकाल
तनहुँको कार्यालयमा हुन सक्ने सम्भावित झडप वा तनावलाई ख्याल गर्दै प्रहरीले प्रतिनिधि सभा विघटन भएकै दिनबाट प्रहरी सुरक्षाकर्मी खटाउन थालेको छ । तर तनहुँका जिल्ला अध्यक्ष केदार सिग्देल ओली पक्षका भएका कारण ओली पक्षले ताला लगाउने योजना बनाएको छैन ।
पार्टीका कार्यालय सचिव रहेका ओलीपक्षीय नेता राजेश्वर ढकाल कार्यालयमा ताला लगाउनु नपर्ने बताउँछन् । ‘उहाँहरु पनि आइरहनुभएको छ, तर अध्यक्षसहित हामीहरु नै नेतृत्वमा भएकाले ताला लगाउने योजना छैन,’ उनले भने ।
कार्यालयका लागि लड्दैनौंः न्यौपाने
पार्टीका सचिवमा साविक माओवादी तथा हाल प्रचण्ड–नेपाल खेमाका राजेन्द्रकेशरी न्यौपाने छन् । उनले कार्यालयमा गैरहेको र भेटघाटको काम गरिरहेको बताए । ‘कार्यालयमा म गैरहेको छु,’ उनले भने,‘तर भोली पार्टी फुटेमा जो आधिकारिक ठहर्छ उसकै कार्यालय हुने भएकाले अहिले यो विवाद जरुरी छैन ।’