महिला उद्यमीका समस्या चिर्न अन्र्तक्रिया

  • ख-
  • ख+

प्रकृति खनाल न्यौपाने
दमौली :
महिला उद्यमीको वर्तमान समस्या र चुनौतीका विषयमा दमौलीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँ को आयोजनामा भएको कार्यक्रममा महिला,बालबालिका तथा समाजकल्याण मन्त्रालयकी महिला विकास अधिकृत रमा अधिकारी पौडेलले महिला उद्यमीका वास्तविक समस्या चिर्न यस कार्यक्रम उपलब्धिमूलक रहने जानकारी दिइन् ।


पौडेलले उनीहरूलाई उद्यमी भएकोमा गर्व गर्दै आर्थिक समृद्धिका लागि बजार व्यवस्थापन, ऋण सहुलियत जस्ता कुरालाई सघाउन कोसेली घरको निर्माण गरिएको र अब तनहुँका महिला उद्यमीका समस्या समेत यसले चिर्दै हरेक सफलता हेर्दै अन्य महिलाहरूलाई जिविकोपार्जनका लागि व्यवसाहिक सीप दिदै आर्थिक समृद्धिमा समेत लाग्नुपर्ने धारणा राखेकी थिइन् ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ तनहुँका कार्यालय प्रमुख नारायणप्रसाद ढकालले महिला उद्यमीका समस्या भनेको उद्योग महासंघकै समस्या भएकाले यस्ता समस्यालाई चिर्न चौतर्फी विषयमा बहस गर्दै कार्यालयबाट गर्न सकिने सहयोग सदैव निरन्तर रूपमा भैरहने जानकारी दिए ।


घरेलु तथा साना उद्योग महासंघकी केन्द्रीय सदस्य मच्छिन्द्रा श्रेष्ठले महिलालाई उद्यम गर्न हर कुरा बाधक भएपनि संघर्षले सफलता दिदै आर्थिक समृद्धि पछि निर्णायक शक्ति बढ्ने र जीवन पूर्ण भएको मिठो महसुस गर्न सकिने तथा व्यवसायी उत्पादन गर्न समेत सकिने धारणा राखेकी थिइन् ।


अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँकी अध्यक्ष कल्पना गौलीले व्यवसायी दिदीबहिनीहरूलाई उर्जा भर्दै महिला उद्यमीका समस्या चिर्न नै कोसेली घरको अवधारणा आएको र सबै मिली हाम्रो समस्या चिर्ने खालका कार्यक्रम गर्दै अगाडि बढ्नुपर्ने धारणा राखेकी थिइन् ।

कार्यक्रममा भिमाद, शुक्लागण्डकी तथा व्यास क्षेत्रका महिला उद्यमीको सहभागीता रहेको थियो । अन्तरक्रियामा महिला उद्योमीहरूले आआफ्नो क्षेत्रमा तथा व्यवसायमा आएका समस्या, चुनौतीहरू तथा आफुले गरेका उद्यमका बारेमा चर्चा गर्दै समस्यामा परेका केही तथ्यगत विषयलाई सरोकारवालाहरूले सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।


महिला उद्यमीका धेरै समस्या मध्ये बिना धितो कर्जा उपलब्ध नहुनु, बजार व्यवस्थापनमा समस्या हुनु, महिलाका नाममा घरजग्गा नहुदा राजस्व लगायत उद्योग नै धरापमा परेर सीपलाई मार्नुपर्ने अवस्था समेत सिर्जना हुनु लगायतका धेरै समस्याहरूका बारेमा अन्तरक्रियामा छलफल भएको थियो ।


महिला उद्यमीका समस्याहरूलाई चिर्दै बिना धितो ऋण प्रवाह गर्नुपर्ने व्यवसायलाई टिकाउन उत्पादित सामग्रीको बजार व्यवस्थापन हुनुपर्ने खालका दीर्घकालीन आवश्यकताहरू तत्काल पूरा गरेमा तनहुँमा धेरै महिला उद्योमीको सङ्ख्यात्मक र गुणात्मक दुवै किसिमको समृद्धि आउने सहभागी महिला उद्यमीहरूले स्पष्ट पारेका थिए ।


कार्यक्रमको सहजीकरण नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँकी उपाध्यक्ष बसुन्धरा घर्तीले गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्