
भानुः तनहुँको भानु नगरपालिकास्थित फुस्रेटारमा वातावरणीय संरक्षण तथा लैंगिकता र सामाजिक समावेशीकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । हरियो वन कार्यक्रम अन्तरगत संचारिका समूह नेपालको संयोजनमा भानु नगरपालिकाका विभिन्न सामुदायक वन तथा संघ संस्थामा आवद्ध महिलाहरुबीच उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा स्थानीय महिलाहरुलाई वातावरणीय संरक्षण साथै कुनै पनि संघ÷संस्थाको नेतृत्वदायी भूमिकामा बस्दा महिलामैत्री तथा वातावरणमैत्री निर्णयहरु कसरी हुन्छन् भन्ने विषयमा सहजिकरण गरिएको कार्यक्रमकी संयोजक सम्झना रसाइलीले बताइन् ।
नगरपालिकाकी उपप्रमुख आशा थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा भानु नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ का विभिन्न सामुदायीक वन, आमा समूह तथा संघ संस्थामा आवद्ध ३५ जना महिलाहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले वातावरणीय विषयलाई आर्थिक उपार्जनमा जोड्न नीतिगत खाँचो रहेको बताइन् ।
‘प्राकृतिक स्रोत र साधन सबैैको साझा सम्पत्ति हो । यसको संरक्षण स्थानीयले नै गर्नुपर्छ । अन्य व्यक्ति यसको संरक्षणमा लाग्यो भने यहाँका स्थानीयलाई पायक पर्ने विकास तथा निर्णयहरु हुँदैन’, उपप्रमुख थापाले भनिन्, ‘महिलाहरु जल, जंगल, जमिनसंग प्रत्यक्ष जोडिने भएपनि नेतृत्वदायी भूमिकामा पुरुष नै देखिने हुँदा यसको संरक्षण तथा नेतृत्व विकासमा महिलाहरु अगाडि बढ्नुपर्ने देखिएको छ ।’
उक्त कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले वातावरण तथा वन्यजन्तु संरक्षणका विषयमा सहजीकरण गरेका थिए । उनले वातावरण संरक्षण तथा वन्यजन्तु संरक्षणको महत्व, स्थानीय स्तरमा भएका वातावरण संरक्षण तथा वन्यजन्तु संरक्षणको प्रयासहरु, स्थानीय स्तरमा भएका मुद्दाहरु (वन्यजन्तु अपराध, मानव र वन्यजन्तुवीच द्वन्द्व), वातावरण संरक्षण तथा वन्यजन्तु संरक्षणमा लैङ्गिक तथा सामाजिक समावेशिकरणको महत्वलाई कसरी व्यवस्था गरिएको छ भन्ने विषयमा सहभागिहरुसंग छलफल गरेका थिए ।
यस्तै, कानुन व्यवसायी एवं अधिवक्ता सरिता भण्डारीले संघ संस्थामा महिलाको संलग्नता, स्थानीय स्तरमा निर्णायक भूमिका तथा स्रोत बाडफाडमा महिलाको अवस्था, स्थानीय स्तरमा महिला तथा पिछडिएको समूदायका लागि भएको बजेट व्यवस्था, लैङ्गिक तथा सामाजिक समावेशिकरणका विषयमा सहजिकरण गरेकी थिइन् ।
त्यस्तै, संचारिका समूह तनहुँकी सचिव सम्झना रसाइलीले नागरिक सचेतनामा सञ्चारको महत्व, मुद्दा÷समस्या पहिचानको माध्यमका रुपमा सञ्चार, ग्रामीण क्षेत्रको विकासमा सञ्चारको भूमिका, वातावरण संरक्षण र लैङ्गिक तथा सामाजिक समावेशिकरणमा सञ्चार खेल्ने भूमिका र महत्वका विषयमा सहजीकरण गरेकी थिइन् ।