
काठमाडौं ः पहिले अपेक्षा गरिएअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन भएको घोषणा गरेकी छन् ।
प्रधानमन्त्रीले राष्ट्रपतिलाई संसद विघटनको सिफारिस गरेर भेटेको केही घण्टाभित्रै राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संसद विघटनको सिफारिस अनुमोदन भएको उल्लेख गरेको छ ।
यसैगरी अब सिफारिसअनुसार वैशाख १७ गते पहिलो चरणमा र बैशाख २७ गते दोस्रो चरणमा चुनाव गर्ने सरकारको प्रस्ताव पनि अनुमोदन भएको छ ।
राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै ’संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन गरिएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा ‘ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ,’ भनिएको छ ।