
काठमाडौं ः मन्त्रिपरिषद बैठकमार्फत संसद विघटन सिफारिस भए पछि देशको राजनीतिमा अन्योलको समय शुरु भएको छ । संसदमा सुविधाजनक बहुमत प्राप्त सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थायी समिति बैठकपूर्व डाकेको आकस्मिक मन्त्रिपरिषद बैठकपछि राष्ट्रपतिसमक्ष संसद विघटनको सिफारिस गर्नुलाई धेरैले आश्चर्यको नजरबाट हेरेका छन् ।
सत्ताधारी दलभित्र अल्पमतमा पर्न थाले पछि पहिल्यै प्रमले केही कदम चाल्ने अनुमान गरिए पनि पार्टीको बैठक अगाडि नै ओलीले यति कडा कदम चाल्लान् भन्ने कमैलाई अनुमान थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यस अघिझैं तत्काल यसमा निर्णय दिने हुन् कि केही समय परामर्श गर्ने हुन् हेर्न बाँकी छ ।
आफ्नो सिफारिस राष्ट्रपतिबाट सहजै अनुमोदन भएमा नेकपाका लागि त्यो ठूलो झट्का हुनेछ । अझ भावी सरकारको नेतृत्व वा पार्टीको पुरा जिम्मेवारीको तयारीमा रहेका अर्का नेकपा अध्यक्ष प्रचण्डसामु यसले झनै दबाब दिनेछ ।
तर राष्ट्रपतिले परामर्श वा कुनै नाममा विघटन नगरेमा त्यो ओलीका लागि घातक हुनेछ । तर दोश्रो भन्दा पहिलो सम्भावना बढी देखिन्छ । देशको राजनीतिले अबका केही घण्टा आश्चर्यपूर्ण प्रतिक्षमा बिताउनेछ ।