पैसा नभएर अस्पतालबाट फर्केका कृष्णको उपचारका लागि सामाजिक सञ्जालबाट अभियान

  • ख-
  • ख+

दमौली : उपचार नै पुरा नभए पनि पैसा नपुगे पछि घर फर्कन बाध्य व्यास १० खहरेका एक युवाको उपचारका लागि सामाजिक सञ्जालबाट थालिएको अभियानले गति लिएको छ ।
स्कुटर दुर्घटनामा परी गम्भीर घाइते व्यास १० खहरे निवासी कृष्ण पौडेलको उपचारका लागि स्थानीय युवाहरुले फेसबुकको माध्यमबाट उपचार खर्च जुटाउन थालेका हुन् ।


गत मंसीर २० गते गते दमौलीबाट घर फर्कने क्रममा व्यास ४ बाघभञ्जाङस्थित दमौली भोर्लेटार सडकखण्डमा दुर्घटनामा परी घाइते भएका थिए । दुर्घटनाबाट उनको खुट्टाको जोर्नी भाँचिएको छ ।
उपचारमा संलग्न डाक्टरका अनुसार उनको उपचार जटिल तथा लामो समय सम्म गरिराख्नु पर्ने देखिएको छ । तर पिता कृष्ण पौडेलको आर्थिक अवस्था कमजोर छ ।


घरमा दीर्घ रोगी वृद्ध बाबुआमा, दुई महिनाकी सुत्केरी श्रीमती, नाबालिका छोरी पनि उनकै आयआर्जनमा बाँच्न बाध्य रहेकाले सामाजिक सञ्जालबाट उपचार खर्च जुटाउन अभियान थालेको युवा विशाल गिरीले बताए ।


गिरीसँगै ईश्वर पौडेल र बलबहादुर शाहीले थालेको अभियानको छोटो अवधिमै सहयोग संकलनले गति पाएको छ ।
गिरीका अनुसार फेसबुकमा शुक्रबार स्ट्याटस राखेको सात घण्टाभित्रै धेरैतिरबाट सहयोगको प्रतिवद्धता आएको छ । कृष्णको उपचारका लागि झण्डै १३ हजार संकलन भैसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्