प्रकृति खनाल न्यौपाने
दमौलीः व्यास नगरपालिकाले आवधिक योजनाको प्रारम्भिक छलफल सम्पन्न गरेकोे छ ।
प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कलिला खानले कार्यक्रममा विकास, स्थानीय परिवेश, पुराना अनुभव तथा लक्षित समुदायका मागलाई विशेष सम्वोधन गर्न आवधिक योजना
बनाउनपर्नेमा जोड दिइन् ।
गण्डकी प्रदेश सांसद आशा कोइरालाले केन्द्र र प्रदेशलाई आधार मान्दै सबै क्षेत्रको अध्ययन गरेर स्थानीय तहको आवाधिक योजना बनाउन सके जनप्रतिनिधिको तथ्यपरक कार्यसम्पादन स्पष्ट देखिने धारणा राखिन् । गण्डकी प्रदेश सांसद सरिता गुरूङले स्थानीय तहको श्रोत र साधन तथा पुराना दस्तावेजलाई समेत ध्यान दिदै आवाधिक योजना वनाउनुपर्ने धारणा राखिन् ।
छलफलमा प्रदेश सभा सांसद डोवाटे विकले आवधिक योजनाको प्रशिक्षणले स्पष्ट धारणा सहित योजनाको मर्म र गहनता स्पष्ट भएको धारणा राखेका थिए । संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले विकासका खाका तथा योजना निर्माण गर्दा पुराना दस्तावेजलाई ध्यान दिदै साविक जिल्ला विकास समितिका तथा नगरपालिकाकै दस्तावेजको अध्ययन गर्दै स्थानीय परिवेशका माग र आवश्यकतामा आधारित योजना वनाउनुपर्ने सुझाव दिए ।
छलफलकै क्रममा व्यास नगरपालिकाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठले विगतमा कोरिएका खाकाहरूलाई दराजमा नथन्काउन सुझाव दिए ।
त्यस्तै गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयकी सचिव इन्दु घिमिरेले पर्यटन कृषि तथा अन्य विकासका सम्भावना तथा लिन सकिने अवसरलाई व्यवहारिकता दिने खालको योजना निर्माणमा जोड दिइन् ।

छलफलमा योजना दस्तावेजीकरणको नक्साङ्कनवारे प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्माले प्रस्तुतीकरण गरेका थिए ।
उनले आवधिक योजना निर्माणको खाका तथा अपनाउनु पर्ने सूचकका बारेमा प्रदेश नीति तथा योजना आयोगकी सदस्य भिमा ढुङ्गानाले सहजीकरण गरेका थिए ।
छलफल कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानेले आएका सुझावहरूलाई समेट्दै आवधिक योजना तयार पारिने जानकारी दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले व्यास नगरपालिकाले गण्डकी प्रदेशकै सबैभन्दा पहिले आवाधिक योजना प्रारम्भिक छलफल गर्न सफल भएजस्तै आवधिक योजना बनाउन पनि सफल हुने आशा गरे ।
छलफलमा पर्यटन विद् हरिसिंङ गुरूङ, नेकपा व्यासनगर इनचार्ज श्रीराम कार्की, नेकपा नेता अत्यन्त्र केशरी न्यौपाने,नगरपालिका बोर्ड सदस्य कल्पना पोख्रेल लगायतले आफ्नो सुझाव राखेका थिए । कार्यक्रमको सहजीकरण व्यास नगर शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले गरेका थिए ।











