
काठमाडौंः प्रतिष्पर्धी चर्चित अनुहारलाई पछि पार्दै नेपाली नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले अष्ट्रेलियाका ६६ वर्षीय वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको बिहीबार घोषणा गरेको हो ।
यस अघिका पूर्व प्रशिक्षक पुवुदु दाशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ लगायत दर्जन बढीलाई पछि पार्दै श्रीलंका तथा बंगलादेशलगायत आधा दर्जन सफल राष्ट्रिय टिमका पूर्व प्रशिक्षक रहिसकेका वाटमोरले नेपाली टिमलाई नेतृत्व गर्ने बाटो खुलेको हो ।
क्यानले खुला आवेदन गर्दै अन्र्तवार्ता लिए पछि नयाँ मुख्य प्रशिक्षकको घोषणा गरेको हो ।
वाटमोरले आगामी जनावरी १ देखि लागू हुने गरी नेपाली टिम सम्हाल्नेछन् ।
वाटमोर अष्ट्रेलिया पूर्वक्रिकेटर पनि हुन् । उनीसँग धेरै एसियाली मुलुकको राष्ट्रिय प्रशिक्षणको नेतृत्व गरेको अनुभव छ । उनकै प्रशिक्षणमा सार्क मूलुक श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो । यस्तै, सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक बनेका उनी त्यसपछि भारतको यु–१९ टिमको प्रशिक्षक भएका थिए।
२०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बनेका वाटमोर सन् २०१४ मा जिम्बावेको प्रशिक्षकमा नियुक्त भएका थिए ।
तर, २०१६ को टी–२० विश्वकपमा जिम्बावेले खराब प्रदर्शन गरेपछि वाटमोर बर्खास्तीमा परेका थिए। पछिल्लो पटक वाटमोर सन् २०२० मा सिंगापुरका प्रशिक्षक भएर काम गरिरहेका थिए।
यस्तै, क्यानले महाप्रवन्धकमा रौनकबहादुर मल्ल, मुख्य वृत्त व्यवस्थापकमा रमेशकुमार न्यौपाने र क्रिकेट व्यवस्थापकमा विनोद दासलाई नियुक्त गरेको छ ।