जन्मोत्सवमा रजनजंगले गरे सामाजिक सेवा

  • ख-
  • ख+

दमौली: बेलायत बस्दै आएका व्यास २ का व्यवसायी रजनजंग शाहीले आफ्नो जन्मोत्सवका अवसरमा सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारी स्वर्गीय मातापिताको स्मृतिमा व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको एक÷एक विद्यालय, वृद्धाश्रम र भानु नगरपालिका स्थित चेपाङ समुदायलाई सहयोग गरेका हुन् ।


पिता चन्द्रबहादुर र माता छविन्द्रकुमारीको स्मृतिमा रजनले व्यास–११ रामथुम्की स्थित चण्डेश्वरी आधारभूत विद्यालयका २२ जना बालबालिकालाई न्यानो कपडा वितरण गरे । उनले विद्यालयमा अध्ययनरत सीमान्तकृत, विपन्न चेपाङ समुदायका बालबालिकालाई ट्रयाक सुट र जुत्तामोजा सहयोग गरे ।


फजुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा वृद्धवृद्धा तथा बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको शाहीले बताए । ‘परदेशमा कमाएको रकमको अंश आफ्नो भूमिमा सहयोग गर्न पाउँदा खुशी लागेको छ,’ उनले भने ।


विद्यालयका प्रधानाध्यापक शंकर रानाभाट र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर परियारले विदेशमा परिश्रम गरी स्वदेशको शैक्षिक विकासमा शाहीले गरेको योगदान प्रशंसनीय रहेको बताए ।


शाहीले व्यास–५ पराशर स्थित राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्यसमिति तनहुँद्वारा सञ्चालित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । दैनिक उपभोग्य चामल, दाल, तेल, आँटा, मसला लगायतका सामग्री शाहीले आश्रमलाई उपलब्ध गराएका हुन् । सहयोग सामग्रीप्रति आभार व्यक्त गर्दैै आश्रमका उपाध्यक्ष सुवेदार बलबहादुर रानाभाटले दाताकै सहयोगबाट आश्रम चलेको बताए ।


शाहीले आईतबारै भानु नगरपालिका–६ चेपाङबस्तीका ८ घरपरिवारलाई सिरक हस्तान्तरण गरे । चण्डेश्वरी आधारभूत विद्यालयका प्रअ शंकर रानाभाट मार्फत सो गाउँमा न्यानो कपडाको अभाव भएको जानकारी पाएपछि आफुले सहयोग गरेको बताए ।


शाहीले आईतबारै बन्दीपुर–१ भुडाँटार स्थित ज्योति प्रथामिक विद्यालयका ४० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । रोट¥याक्ट क्लब अफ वेदव्यासले शाहीसँग समन्वय गरी क्लबको अफरिङ ह्याप्पीनेस–२ प्रोजेक्ट अन्तर्गत बालबालिकालाई शैक्षिक र खेलकुद सामाग्री हस्तान्तरण गरिएको क्लबकी अध्यक्ष सन्जु घलेले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्